घोराही । रोल्पाको उवा क्षेत्रबाट दाङमा आई स्थायी तथा अस्थायी रूपमा बसोबास गर्दै आएका नागरिकहरूले गठन गरेको रोल्पाली उवा सेवा समाज दाङले यस वर्षको ऐतिहासिक एवं सांस्कृतिक नोकोबाङ, राँके, तिवार, पर्व भव्य रूपमा मनाउने भएको छ।
समाजले आउँदै गरेको साउन १ गतेदेखि ५ गतेसम्म घोराही उपमहानगरपालिका वडा नं. १३ तुरुन्तपुरस्थित समाजको आफ्नै मैदानमा यस पर्वको आयोजना गर्न लागेको हो।
प्रकृतिको आराधना र सामुदायिक एकताको प्रतीक, यो पर्व मगर समुदायको एक ऐतिहासिक, पौराणिक तथा सांस्कृतिक महत्व बोकेको मौलिक चाड हो। विशेषगरी वर्षायाममा बाढीपहिरो महामारी र अन्य प्राकृतिक विपत्तिहरू नआऊन् र मानव जातिको रक्षा होस् भनी यस पर्वमा प्रकृतिको विशेष आराधना गर्ने गरिन्छ। प्राकृतिक संकटबाट जोगिन र आपसी भाइचारा बढाउन मनाइने नोकोबाङ राँके तिवारलाई यस क्षेत्रमा सामुदायिक एकता र आपसी सद्भावको अनुपम नमुनाका रूपमा समेत लिने गरिन्छ।
गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा
आफ्नो मौलिक संस्कृतिको संरक्षण र नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस पर्वमा सहभागी हुन समाजले सबैलाई अपिल गरेको छ।
रोल्पाली उवा सेवा समाज दाङका अध्यक्ष विक्रम रोका मगरले दाङ घोराही तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण उवाबासी, विभिन्न संघ-संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, सांस्कृतिक प्रेमी एवं सम्पूर्ण शुभेच्छुक महानुभावहरूलाई पर्वको अवसरमा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्नुभएको छ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले भरिएको मुलुक हो। यहाँ मनाइने यस्ता मौलिक चाडपर्वहरूले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।