राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त पदाधिकारीसँग रोल्पाली सेवा समाजको भेटघाट

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त पदाधिकारीसँग रोल्पाली सेवा समाज रोल्पा केन्द्र र दाङ शाखाले शुक्रबार परिचयात्मक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिष्ठानको प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा समाजले नवनियुक्त उपकुलपति प्रा. डा. अजयकुमार मिश्र रजिस्ट्रार प्रा. श्याम लम्साल डिन प्रा. डा. कृष्णकुमार झा निर्देशक प्रा. डा. सुरेश रसाइली र अस्पताल प्रशासन अधिकृत सालिकराम कालाथोकीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको हो।

समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीको अध्यक्षता तथा प्रतिष्ठानका उपकुलपति प्रा. डा. अजयकुमार मिश्रको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको सहजीकरण समाजका केन्द्रीय महासचिव निशान वलीले गर्नुभएको थियो।

कार्यक्रममा दाङ शाखाका अध्यक्ष ओमप्रकाश खड्कासहित समाजका पदाधिकारी तथा सदस्यहरूले परिचय आदानप्रदानसँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रवाह स्वास्थ्य बिमा कार्यक्रम तथा अस्पतालभित्र गर्नुपर्ने सुधारका विषयमा विभिन्न सुझाव दिएका थिए।

समाजका प्रतिनिधिहरूले सर्वसाधारणले सहज सरल र प्रभावकारी रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै सेवाग्राहीले भोग्दै आएका समस्याको समाधान गर्नुपर्ने सुझावसमेत दिइएको थियो।

भेटघाटका क्रममा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले अस्पतालभित्र देखिएका कमजोरी तथा समस्यालाई क्रमशः सुधार गर्दै स्वास्थ्य सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। उपकुलपति प्रा. डा. मिश्रसहित उपस्थित पदाधिकारीहरूले प्रतिष्ठानको सेवा सुधारका लागि आवश्यक पहल सुधार गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस