रोल्पा। अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित रोल्पाको थबाङ गाउँपालिका-५ कोतलबारा उवा गाउँका पीडित परिवारलाई रोल्पाली सेवा समाज रोल्पाले करिब दुई लाख रुपैयाँ बराबरको राहत सामग्री तथा नगद सहयोग गरेको छ।
साउन २७ गते राति आएको विनाशकारी पहिरोमा ठूलो मानवीय क्षति भएको उक्त क्षेत्रमा समाजले शनिबार खाद्यान्न भाँडाकुँडा त्रिपाललगायत अत्यावश्यक सामग्री वितरण गरेको हो। समाजले १ लाख ६४ हजार ५ सय रुपैयाँ बराबरको राहत सामग्री खरिद गरी ३५ हजार ५ सय रुपैयाँ नगदसहित कुल २ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको हो।

उवा कोतलबारा जाने सडकखण्डअन्तर्गत सुनछहरी गाउँपालिका-१ को सिरक्याङ भिरमा पहिरो खसेर सडक अवरुद्ध हुनुका साथै लगातार वर्षा भइरहेकाले राहत टोली प्रभावित क्षेत्रमा पुग्न सकेन। त्यसपछि समाजका प्रतिनिधिले सुनछहरी गाउँपालिका-१ फुलिबनमा थबाङ गाउँपालिका-५ का वडा सदस्य मैते घर्ती मगर र स्थानीय समाजसेवी सुरेश कुमार पुन मगरलाई राहत सामग्री तथा नगद हस्तान्तरण गरेका हुन्।
राहत हस्तान्तरणका क्रममा रोल्पाली सेवा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल बाँठा मगरले बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिको समयमा पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले राहत लिएर आएको बताए। उनले प्रभावित परिवारको पीडामा समाजले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।
राहत बुझ्दै वडा सदस्य मैते घर्ती मगरले जोखिमपूर्ण अवस्थामा समेत पीडितका लागि राहत लिएर आएकोमा रोल्पाली सेवा समाजप्रति धन्यवाद व्यक्त गरे। विपत्तिमा परेका परिवारलाई थप सहयोग जुटाउन सरकार विभिन्न संघसंस्था तथा सहयोगी हातहरूलाई अपिल पनि गरे।
राहत व्यवस्थापन तथा हस्तान्तरणमा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल बाँठा मगर महासचिव निशान वली कोषाध्यक्ष जीवन घर्ती मगर प्रवक्ता सूर्य घर्ती मगर निवर्तमान महासचिव शेरबहादुर डाँगी निवर्तमान सचिव रोशन गिरी तथा दाङ शाखाका सचिव पवन रसाइली प्रवक्ता कैलाश घर्ती मगर र साधारण सदस्य हरि बाँठा मगरलगायत सहभागी थिए।
पहिरोमा ११ जनाको मृत्यु दुई जना बेपत्ता
साउन २७ गते राति उवा कोतलबारामा आएको पहिरोमा परी ११ जनाको मृत्यु भएको र दुई जना अझै बेपत्ता रहेको जनाइएको छ।
पहिरोमा परी मृत्यु हुनेमा कमल पुन मगर असिम पुन मगर राष्ट्रिय पुन मगर जुनकुमारी पुन दलबहादुर पुन मनरखी पुन शान्ति पुन अजम्बरी पुन बलबहादुर पुन लीलबहादुर पुन र हस्तमा रोका मगर रहेका छन्।
त्यस्तै मनि पुन र महेन्द्र घर्ती मगर अझै बेपत्ता रहेको जनाइएको छ।
घटनाले उवा कोतलबारा गाउँबस्ती नै तहसनहस बनेपछि प्रभावित परिवार तथा स्थानीयवासी स्तब्ध छन्। लगातारको वर्षाका कारण यस वर्ष रोल्पामा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको छ।
रोल्पाली सेवा समाजले प्रभावित क्षेत्रका लागि सहयोगको अपिल गरेपछि देश तथा विदेशमा रहेका सहयोगी दाताबाट संकलित रकमबाट राहत सामग्री जुटाइएको जनाएको छ। लगातार वर्षा अवरुद्ध सडक र पहिरोको जोखिमबीच समाजका प्रतिनिधिले राहत लिएर प्रभावित क्षेत्रसम्म पुग्ने प्रयास गरेका थिए।
उवा कोतलबाराको विपत्तिपछि विभिन्न संघसंस्था सामाजिक संगठन स्थानीय तह तथा सहयोगी व्यक्तिहरूले पीडित परिवारका लागि राहत तथा आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन गरिरहेका छन्