भेडाको थुमा प्रतीकमाथि चढेर टिकटक बनाएको भिडियो भाइरल।
दाङ । दाङको घोराही उपमहानगरपालिका-१३ मा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बाह्रकुने दह पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित बन्दै गए पनि यसको धार्मिक मर्यादा प्राकृतिक सम्पदा र सुरक्षा व्यवस्थापनप्रति भने गम्भीर प्रश्न उठ्न थालेका छन्।
बाह्रकुने दह धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको महत्वपूर्ण स्थल हो। दहमा १२ वटा कुना भएकाले यसको नाम बाह्रकुने दह रहन गएको स्थानीय जनविश्वास छ। यहाँ रहेको बराह मन्दिरमा विशेषगरी माघेसङ्क्रान्तिका दिन ठूलो धार्मिक मेला लाग्ने गर्छ। सन्तान प्राप्तिको कामना गर्दै भक्तजन आउने तथा विभिन्न धार्मिक परम्परा निर्वाह गर्ने चलनसमेत रहँदै आएको छ।
तर पछिल्लो समय धार्मिक स्थलको प्रचार प्रसार गर्ने नाममा सामाजिक सञ्जालमा बनाइने केही भिडियोले बाह्रकुने दहको धार्मिक मर्यादामाथि नै प्रश्न खडा गरेको छ।

हालै Tullubbe75 टिकटकमा सार्वजनिक भएको एउटा भिडियोमा एक व्यक्तिले बाह्रकुने दहमा राखिएको भेडाको थुमाको प्रतीकमाथि चढेर टिकटक भिडियो बनाएको दृश्य देखिएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ। धार्मिक आस्था र संस्कृतिसँग जोडिएको प्रतीकमाथि चढेर भिडियो बनाइएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाएका हुन्। आलोचना बढेपछि उक्त भिडियो टिकटकबाट हटाइएको देखिएको छ।
घटनाप्रति कतिपयले सम्बन्धित व्यक्तिले धार्मिक आस्थामाथि भएको अपमानका लागि क्षमायाचना गर्नुपर्ने बताएका छन्। प्रश्न भने यो पनि उठेको छ, धार्मिक स्थलको मर्यादा कायम राख्ने जिम्मेवारी पाएको समितिले यस्ता गतिविधि रोक्न के गरिरहेको छ?
सोही व्यक्तिको टिकटक खातामा बाह्रकुने दहका माछालाई दाना खुवाउँदै समाउन खोजिएको दृश्यसमेत रहेको बताइएको छ। दहमा रहेका माछालाई पानीबाट बाहिर निकाल्ने समाउने र त्यसलाई सामाजिक सञ्जालको सामग्री बनाउने भिडियोहरु बेलाबेला सार्वजनिक भएका छन्। यस्तो प्रवृत्तिप्रति संरक्षणप्रेमीहरूले चिन्ता व्यक्त गरेका छन्।
यसअघि आफूलाई शक्तिशाली झाँक्रीका रूपमा प्रस्तुत गर्ने प्रकाश भुजेल बाह्रकुने दह परिसरमा पुगेपछि आफूलाई भूतप्रेतले तर्साएको दाबी गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयले समेत चर्चा पाएको थियो। धार्मिक तथा पवित्र स्थलसँग जोडेर भ्रमपूर्ण सन्देश फैलाउने किसिमका सामग्री सार्वजनिक हुँदा सम्बन्धित निकाय श्री वराहक्षेत्र संरक्षण तथा सम्वर्द्धन धार्मिक समितिले त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने आवाजसमेत उठेको थियो।
त्यस्तै रातको समयमा दहका माछा चोरी भएको घटनासँग सम्बन्धित सीसीटीभी दृश्य सार्वजनिक भएको थियो। दहमा माछा चोरी तथा अन्य अवाञ्छित गतिविधि भइरहेका घटनाले संरक्षण तथा सुरक्षा व्यवस्थापन प्रभावकारी छ कि छैन भन्ने प्रश्न थप गम्भीर बनाएको छ।
बाह्रकुने दहको संरक्षण तथा व्यवस्थापनका लागि गठित श्री बराह क्षेत्र संरक्षण तथा सम्वर्द्धन धार्मिक समितिमाथि अहिले यिनै विषयमा नागरिकस्तरबाट प्रश्न उठ्न थालेको छ।दह परिसरमा भक्तजन तथा पर्यटकलाई सचेत गराउन विभिन्न स्थानमा सूचना तथा जानकारीमूलक बोर्ड राखिएका छन्। तर सूचना बोर्ड राखेर मात्र पुग्छ कि त्यसको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन र आवश्यक कारबाही पनि हुनुपर्छ भन्ने प्रश्न उठेको छ।
धार्मिक क्षेत्रभित्र हुने गतिविधिबारे समितिले कस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। नियम उल्लङ्घन गर्नेलाई के कस्तो कारबाही गरिएको छ। सामाजिक सञ्जालमा धार्मिक स्थलको मर्यादाविपरीत सामग्री सार्वजनिक हुँदा समितिले के कदम चाल्यो। यी प्रश्नको जवाफ आम नागरिकले खोजिरहेका छन्।
समितिले गरेका संरक्षण तथा सचेतनामूलक गतिविधि जनमास सम्म पुग्न नसकेको हो वा गतिविधि नै प्रभावकारी रूपमा हुन नसकेको हो भन्ने विषयमा पनि स्पष्टता आवश्यक देखिएको छ।
राज्यको ध्यान किन पुगेन?
घोराही उपमहानगरपालिका क्षेत्रभित्रै पाण्डवेश्वर महादेव मन्दिर धारापानी गोरक्ष सिद्ध रत्ननाथ मठ चौघेरा तथा अम्बिकेश्वर महादेव मन्दिरलगायतका धार्मिक स्थल छन्। यीमध्ये सबै स्थानमा भक्तजनको सुरक्षा तथा धार्मिक स्थलको मर्यादा कायम राख्न नेपाल प्रहरीको नियमित उपस्थिति र अस्थायी प्रहरी बिटसमेत राखिएको छ। तर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाह्रकुने दहमा भने चौबीसै घण्टा प्रहरीको नियमित उपस्थिति किन छैन भन्ने प्रश्न उठेको छ।
धार्मिक स्थलमा चोरी अवाञ्छित गतिविधि तथा मर्यादाविपरीतका क्रियाकलाप रोक्न सुरक्षा निकायको नियमित उपस्थिति आवश्यक रहेको स्थानीयको भनाइ छ। प्रहरी पोस्ट स्थापना गर्न राज्यसँग समितिले वा स्थानीय समुदायले आवश्यक पहल गरेको छ कि छैन भन्ने विषय पनि सार्वजनिक हुनुपर्ने देखिन्छ। पहल हुँदाहुँदै पनि राज्यले नसुनेको हो कि ?
बाह्रकुने दह केवल मनोरञ्जन वा टिकटक रील्स बनाउने ठाउँ मात्र होइन। यो धार्मिक आस्था संस्कृति प्राकृतिक सम्पदा र स्थानीय पहिचानसँग जोडिएको स्थल हो। सामाजिक सञ्जालमार्फत यसको प्रचार हुनु पर्यटन प्रवर्द्धनका लागि सकारात्मक पक्ष भए पनि धार्मिक आस्थामाथि खेलवाड गर्ने गतिविधि र भ्रमपूर्ण सामग्री निर्माणलाई सामान्य रूपमा लिन नहुने संरक्षणप्रेमीहरूको भनाइ छ।
अब बाह्रकुने दहको धार्मिक मर्यादा प्राकृतिक सम्पदा र पर्यटकीय सम्भावना जोगाउन संरक्षण समिति स्थानीय सरकार र राज्यका सम्बन्धित निकायले स्पष्ट कार्ययोजना बनाउनुपर्ने छ। नियमित सुरक्षा व्यवस्था प्रभावकारी अनुगमन सीसीटीभी निगरानी आचारसंहिता कार्यान्वयन तथा नियम उल्लङ्घन गर्नेमाथि प्रचलित कानुनअनुसार कारबाही भए मात्र बाह्रकुने दहको गरिमा जोगाउन सकिने देखिन्छ।