दाङ घोराही । तीज पर्वमा बढ्दै गएको विकृति विसङ्गतिविरुद्ध सचेतना फैलाउने उद्देश्यले घोराहीमा तीज लक्षित सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ।
रोल्पाली सेवा समाज रोल्पा दाङ शाखाको आयोजनामा घोराहीको तुलसीपुर चोक र लखन पार्कमा सडक नाटक प्रदर्शन गरिएको हो।
महिलाको अधिकार समानता र सशक्तीकरणका लागि सचेतना फैलाऔँ’ भन्ने मूल नारासहित दर्जनौँ स्थानीय कलाकारले गीत संगीत तथा अभिनयमार्फत तीजका नाममा देखिएका विकृति र विसङ्गतिविरुद्ध सन्देश प्रस्तुत गरेका थिए।
सडक नाटक अवलोकन गर्न दुवै स्थानमा उल्लेख्य संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो।
कार्यक्रम रोल्पाली सेवा समाज रोल्पा दाङ शाखाका अध्यक्ष ओमप्रकाश खड्काको अध्यक्षतामा तथा रोल्पाली सेवा समाज रोल्पाका केन्द्रीय अध्यक्ष डिलाराम वलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
नाटकको कथा तथा निर्देशन कलाकार निर्देशक वीरेन्द्र वलीले गर्नुभएको थियो। नाटकले तीजको मौलिक परम्परा संस्कृति र महत्वलाई जोड दिँदै पछिल्लो समय पर्वका नाममा देखिएका भड्किलोपन विकृति तथा विसङ्गतिविरुद्ध सचेतना फैलाएको आयोजकले जनाएको छ।
कार्यक्रमको सुरुवातमा दाङ शाखाका प्रवक्ता कैलाश घर्ती मगरले सहजीकरण गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनु भयो। उहाँले हालै देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा विपत्तिप्रति दुःख व्यक्त गर्दै रोल्पाली सेवा समाजको सामाजिक उद्देश्य र भूमिकाबारे समेत प्रकाश पार्नुभएको थियो।
कार्यक्रम दाङ शाखाका महासचिव सूर्य भुसाल र सचिव पवन रसाइलीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा समाजका पदाधिकारी सदस्य विभिन्न क्षेत्रका अतिथि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख प्रायोजक समाजका दाङ शाखाका प्रमुख सल्लाहकार पदम केसी सह प्रायोजक हनुमान इँटा उद्योगका सञ्चालक मोहन घर्ती मगर तथा सहयोगी समाजका दाङ शाखाका संरक्षक दर्जित रोकालगायत रहनुभएको थियो।
सडक नाटकमार्फत तीजको मौलिकता संरक्षणसँगै महिला अधिकार समानता र सशक्तीकरणका पक्षमा सकारात्मक सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।
थप तस्वीर:







