रसुवामा बाढीपछि रोल्पाका २२ जना बेपत्ता

रसुवाको हाकुबेशी गाजाबारी क्षेत्रमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा काम गरिरहेका रोल्पाका २२ जना बाढीपछि बेपत्ता भएका छन्।

पारिवारिक स्रोतका अनुसार सुनिलस्मृति गाउँपालिकाका २१ जना र रोल्पा नगरपालिकाका १ जना गरी २२ जना आयोजनास्थलबाट सम्पर्कविहीन भएका हुन्। उनीहरू आयोजनामा काम गरिरहेका बेला बाढी आएपछि बेपत्ता भएको बताइएको छ।

सोही आयोजनामा काम गर्ने सुनिलस्मृति गाउँपालिका-६ का मुक्त महरा भने बिरामी भएका कारण उक्त दिन काममा नगएकाले सकुशल रहेको जनाइएको छ। महराले आफूसँगै आयोजनामा काम गर्न गएका २२ जना साथीहरू बेपत्ता भएको जानकारी फोनमार्फत दिएको बेपत्ता व्यक्तिका आफन्त प्रमिसा सुवेदीले बताउनुभयो।

सुवेदीका अनुसार बेपत्ता हुनेमा सुनिलस्मृति गाउँपालिका-६ पाटीहाल्नाका राजेन्द्र महत सोही वडाको गजुलका सन्तवीर महरा तथा रोल्पा नगरपालिका-१० भनभने चुत्रेखर्कका लेखराज रोका रहेका छन्। अन्य बेपत्ता व्यक्तिहरूको परिचय भने खुल्न बाँकी रहेको बताइएको छ।

बेपत्ता भएकामध्ये अधिकांश एउटै गाउँका रहेको जनाइएको छ। बाढीपछि आफ्ना आफन्त सम्पर्कविहीन भएकाले परिवारजनले तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन्। स्रोत मालश्री।

प्रतिक्रिया दिनुहोस