समाज गठन र परिचालनको विषय

दिपेन्द्र घर्ती मगर ‘प्रभाकर’

घोराही। मानव उत्पत्तिदेखि निरन्तर विकाशमै लम्किरहेको छ । विकाशक्रमका विभिन्न चरण र कालखण्ड पार गर्दै आधुनिक युगको पनि प्रविधि विकासको चरणमा पुगेको छ । प्रविधिले विश्वलाई नै जोडिदिएको छ । जसले गर्दा विश्वको एककुना हुने हरेक गतिविधि क्षणभरमै विश्वव्यापीकरण भइसक्छ । यसरी मानिसले विश्वको हरेक घटना परिघटनाबारे जान्नेबुझ्ने अवसर पाइरहेको छ र जीवन व्यावहारमा बदलाव पनि आइरहेको छ । सोहीअनुरुप समाज निर्माण, परिवर्तन र परिमार्जन समेत गर्दै विकशित र समृद्ध बन्ने र बनाउने प्रयासहरू भइरहेका छन् ।

मानवजीवनको सहजताको लागि सेवा सुविधाको खोजीमा निरन्तर सङ्घर्ष गरिरहेको इतिहास साक्षी नै रहेको छ । जसले गर्दा भौतिक पूर्वाधारको विकास भएको स्थानहरू सबैको रोजाइ र छनौटमा पर्ने गरिरहेका हुन्छन् । जसको कारण मानिसहरू बसाइँसराइजस्ता प्रक्रियाले एक स्थानबाट अर्को स्थानमा पुग्ने भइरहेको छ । यसरी समाजको स्वरुप र आकारमा परिवर्तन र बदलाव आइरहने गरिरहेका छन्, हुन्छन् र भइरहने प्रक्रिया निरन्तर चलिरहन्छ । यसो हुँदा स्वभावैले शहर बजारका बस्तीहरू घना र बाक्लो हुने तथा दुर्गम र विकटका स्थानहरूको बस्ती पातलो भइरहेका हामीले देख्ने र भोग्ने गरिरहेका छौ ।

बसाइँसराइसँगै समाज निर्माणको प्रक्रियामा परिवर्तन हुने गर्दछन् । मानिस सामाजिक प्राणी भएकाले समाजबिना रहन सक्दैन । जसले गर्दा समाज निर्माणको प्रक्रियामा सहभागी रहने गर्दछ । समाज निर्माणमा अपनाइने कैयौँ सामाजिक नियमहरूलाई अपनाउने र अवलम्बन गर्दै जाँदा विभिन्न किसिमका संस्कार, संस्कृतिहरूको विकाससँगै जीवनको अङ्गकै रूपमा विकाससमेत हुन पुग्ने गरेका हुन्छन् । जसले उसको जीवनयापनलाई सरल र सन्तुष्टिपूर्ण बनाउन सहयोग गरिरहेको हुन्छ । जुन कुरा उसले सजिलै छोड्न वा तोड्न सक्दैन र चाहँदैन पनि यो मानवीय स्वाभाव नै हो ।

मानिसले समाजबाट आर्जन गरेको संस्कार, संस्कृति उसको जीवनसँग नै बनिसकेको हुने भएकाले फरक संस्कार, संस्कृतिमा जिउन वा आत्मसाथ गर्न निकै कठिन वा असम्भवजस्तो बन्ने गर्ने हुँदोरहेछ । जसले गर्दा आफ्नो संस्कार, संस्कृति नै मानिसको पहिचान वा सम्पत्तिको रूपमा ग्रहण गर्ने भएकाले उसले आफ्नो संस्कार, संस्कृतिप्रति अति स्नेह माया हुँदोरहेछ । त्यसकारण आफ्नो जीवन व्यवहारमा अङ्गाल्न पुग्छ । तर सबै स्थान वा समयमा अगाल्न सक्ने परिस्थिति वा अवस्था नबन्न पनि सक्छ । जबकि उसले आफ्नो स्थान वा अवस्था बदलिएमा, यस्तोबेला आफ्नो पहिचान अर्थात् संस्कार, संस्कृतिको आवश्यकता वा खोजी गर्न बाध्य हुने स्थितिको सिर्जनासमेत हुनसक्ने गर्दछ ।

आजभोलि एक ठाँउबाट अर्को ठाँउमा बसाइँसराइ गरेर बसेका समुदायहरूमा समाज गठन गरी आफ्नै परम्परा, संस्कार, संस्कृतिअनुसार जीवनयापन गर्ने उद्देश्यले समाज गठन गर्ने चलनले तीव्र गति लिइरहेको छ । समाज गठनको लहरले दाङमा पनि चर्चा पाइरहेको छ । रोल्पा, रुकुम, सल्यान, प्युठानजस्ता नजिकका जिल्लाबाट दाङमा आएर बसोबास गर्नेहरूको लहर चलिरहेको छ । यसले एकको सिको गरेर भए पनि विभिन्न समाजहरू गठन हुने गरेका छन् ।

मानिसहरूलाई सङ्गठित हुनपर्दछ भन्ने भावना र चेतको विकास भएको छ । साथै आफ्नो समाजका सदस्यहरूलाई आइपरेको दुःखसुखमा भलाइको कार्य गर्ने जस्ता सकारात्मक कार्यहरू भइरहेको छन् । यसले हिजोदेखि मान्दै, अङ्गिकार गर्दै आइरहेको परम्परागत संस्कार, संस्कृतिको संरक्षण पनि भइरहेका छन् । जो समाजको लागि आफ्नो गहना वा सम्पत्तिको रूपमा पनि लिन लायकको देखिन्छ । संस्कार, संस्कृतिले मानिसलाई सभ्यतातर्फ दोहोर्‍याउन आवश्यक छ । परम्परागत संस्कार, संस्कृतिहरू कतिपय रुढीगत, अवैज्ञानिक र समयानुकल नहुन पनि सक्छन् । यस्ता खालका संस्कारहरूलाई वैज्ञानिक र समयानुकुल बनाउनलाई परिमार्जन गर्दै परिष्कृत गर्न पनि आवश्यक छ ।  सही र वैज्ञानिक संस्कारले समाजको पहिचानमा राम्रो प्रभाव पार्दछ । तर रुढिगत र अवैज्ञानिक संस्कारले समाजलाई गलत वा नकारात्मक प्रभाव पार्नसक्ने कुरा पनि सत्य हो जो घातक पनि हुनसक्छ । यसकारण समाज गठनको उद्देश्यअनुरुपको संस्कार, संस्कृतिको संरक्षणमा यस्ता विषयमा विशेष विचार गर्न आवश्यक छ ।

समाज गठनपश्चात् आफ्नो समुदाय वा परिवेशका मानिसहरूको केन्द्रिकरण भई भावनात्मकरूपले मजबुट बन्ने र एकअर्काको दुःखकष्टमा साथ सहयोग गर्ने जस्ता सम्बन्धको बिस्तार हुन सुखको पक्ष बनेको छ । जसले गर्दा कुनै मानिस एक्लोपन नगरी सुरुक्षाको अनुभूत गर्न पाएको छ । आफ्नो पछाडि बलियो अडेस लाग्ने ठाँउ भएको अनुभूत गर्न पाएको छ । जसको कारण जीवनयापनमा कुनै न कुनै रूपमा सकरात्मक प्रभाव परिरहेको छ । समाजभित्र गरिने हरेक गतिविधिले जीवनलाई सरल र सन्तोषमय बनाइरहेको छ । छोडेर आएको ठाँउ वा संस्कार, संस्कृतिको अभाव हुन दिएको छैन । यसरी समाजले सकरात्मक पक्षमा पाइदा पुर्‍याइरहेको छ ।

समाज गठनका केही नराम्रा पक्षहरू पनि हुनसक्ने सम्भावना रहन्छन् । विशेष त यस्ता समाजनिर्माण गठन हुँदा अरूको संस्कार, संस्कृतिसँगको सहकार्यमा कमी आउँदा अरू संस्कार, संस्कृतिसँगको ज्ञानको विस्तारमा सङ्कुचन आउनसक्ने सम्भवना रहन्छ । त्यस्तै एक समाज र अर्को समाजको बिचको तारताम्य सही तरिकाले मिलेन भने विवाद वा द्वन्द्व उत्पन्न हुनसक्ने कुरालाई पनि नजरअन्दाज गर्न सकिँदैन । एकजिल्ला र अर्को जिल्लाबासीहरूको बिचमा क्षेत्रीय भावनाको विकास हुनसक्ने खतरा पनि रहिरहन सक्छ । साथै बासोबास भइरहेको जिल्ला वा ठाँउलाई आफ्नो ठाँउको रूपमा आत्मसातिकरण गर्नमा केही सङ्कुचन उत्पन्न हुनसक्ने सम्भावना पनि रहन्छ ।

अन्तमा समाज गठन गरेर राम्रो कार्यको थालनी भएको छ । यसले आफ्नो पहिचान र अस्तित्वको रक्षा गर्ने गरेको छ । जीवनमा हरभरा थप्ने कार्य गरेको छ । समाजहरू खोल्नको लागि मात्र नखोलेर लक्ष्य र उद्देश्य स्पष्ट गरेर खोल्न आवश्यक छ । समाजको मुख्य ध्यय समाजको संस्कार, संस्कृतिको संरक्षण नै प्रधान हुन्छ । तर अन्य मनसाय वा नियतले गठन गरिएका समाजहरू लामो समय चल्न चलाउन पनि गाह्रो हुने कुरा पक्का छ । समाज परिचालनमा विशेष ध्यान पुगेन भने यसले समाजलाई नकरात्मकतातिर लैजाने  र अवगुणले ग्रष्ट हुने कुरा पनि त्यतिकै सत्य भएकाले समाजलाई सामाजिक सचेतना, लोककल्याणकारी भावका साथ सञ्चालन गर्न र सञ्चालित हुन आवश्यक छ । यस्तो माहोल लामो समय टिकाउन पनि आवश्यक छ । समाज समाजविचमा सहकार्य गर्ने तथा आफ्ना संस्कार, संस्कृतिहरूको मित्रतापूर्ण रूपमा आदानप्रदान गर्न त्यतिकै महत्तपूर्ण रहन्छ । यस्ता विषयहरूलाई हरेक समाजहरूले मनन गर्न आवश्यक छ । यसरी अगाडि बढ्न सकेमा समाज बलियो, विकसित र विस्तार भएर जानेछ।

प्रतिक्रिया दिनुहोस