घोराही, चैत ३०। दाङको घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरीय महोत्सवमा नयाँ वर्ष २०८३ को अवसर पारेर चर्चित अभिनेता पल शाहको विशेष प्रस्तुति रहने भएको छ।
आयोजकका अनुसार नयाँ वर्षको दिन मंगलबार नेपाली चलचित्र क्षेत्रका सुपरस्टार पल शाहले महोत्सवमा आफ्नो प्रस्तुति दिने कार्यक्रम तय गरिएको हो। नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङद्वारा साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार भन्ने नारासहित आयोजना गरिएको लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषि महोत्सवमा उक्त प्रस्तुति रहने जनाइएको छ।
महोत्सव मूल समितिका संयोजकले दर्शकहरूको मागअनुसार नयाँ वर्षको दिन पल शाहको उपस्थिति तथा प्रस्तुति रहने जानकारी दिएका छन्। उनले सम्पूर्ण दर्शकलाई महोत्सवमा सहभागी भई रमाइलो गर्न तथा कार्यक्रमको आनन्द लिन आग्रह समेत गरेका छन्।
यस्तै, अभिनेता पल शाहले पनि एक भिडियो सन्देशमार्फत सबै दर्शकलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन्। उनले नयाँ वर्ष २०८३ को सांस्कृतिक कार्यक्रम आफ्नै गृह जिल्ला दाङबाट सुरु गर्न लागेकाले कार्यक्रममा उपस्थित भई साथ र समर्थन दिन सबैलाई आग्रह गरेका छन्।
उनले सन्देशमा भनेका छन् नयाँ वर्षको पावन अवसरमा वैशाख १ गते म आफ्नै गृह जिल्ला दाङ आउँदैछु। यहाँको माया र साथ लिन घोराही आउँदैछु। सबैजना उपस्थित भई रमाइलो गरौँ, सँगै नाचौँ, गीत गाऔँ र नयाँ वर्षको शुभकामना आदानप्रदान गरौँ।
महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै मनोरञ्जनात्मक आकर्षणहरू समेत राखिएको आयोजकले जनाएको छ।