रोल्पामा एमालेको बृहत चुनावी घरदैलो तथा कोणसभा सम्पन्न

रोल्पा। रोल्पाको उत्तरपूर्वी क्षेत्रको मुख्य केन्द्र सुलीचौर र रुनिबाङ बजारमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले रोल्पाले बृहत चुनावी घरदैलो भेटघाट तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम उत्साहजनक सहभागितासहित सम्पन्न भएको जनाइएको छ।

कोणसभामा बोल्दै समानुपातिक उम्मेदवार नवीन रोका मगरले रोल्पा र रोल्पाली जनताको अधुरो सपना तथा विकासका योजनाहरू पूरा गरी समृद्ध रोल्पा र सुखी, खुसी रोल्पाली निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पुराना परीक्षित पात्रभन्दा नयाँ र योग्य नेतृत्वको आवश्यकता औंल्याउँदै नेकपा एमाले रोल्पाका प्रत्यक्ष उम्मेदवार गोकुल घर्ती मगर र समानुपातिक उम्मेदवार नवीन रोका मगरलाई सूर्य निर्वाचन चिन्हमा मतदान गर्न आम रोल्पाली जनतासमक्ष अपिल गर्नुभयो।

उहाँले वर्तमान निर्वाचन देशको भविष्यसँग जोडिएको उल्लेख गर्दै देश जलाउने शक्तिलाई होइन, देश बचाउने शक्तिलाई विजयी गराउनुपर्ने जिकिर गर्नुभयो। सो क्रममा उहाँले बालेन शाह र रवि लामिछाने यो देशका लागि दुर्भाग्य भएको टिप्पणी गर्दै राष्ट्रवादी शक्ति नेकपा एमालेको जित सुनिश्चित रहेको दाबी गर्नुभयो। साथै राष्ट्रघाती प्रवृत्तिप्रति सचेत र सजग रहन आग्रह गर्नुभयो।

कार्यक्रमको सञ्चालन ओविलाल रोका मगरले गर्नुभएको थियो। अभियानमा पार्टीका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय यमुना रोका मगर, खिमचन्द्र पुन, बमबहादुर पुन मगर, मेघ बुढाथोकी, जुगमति बस्नेत, प्रशान्त घर्ती मगर, दिलीप थापा, वीरबहादुर खड्का, इन्द्र महरा, कमल बुढाथोकी, महेन्द्र पुनलगायत नेताहरूको उपस्थिति रहेको थियो।

यस अभियानले रोल्पा जिल्लामा राजनीतिक माहोल तताएको र चुनावी सरगर्मी तीव्र बनेको छ।

प्रतिक्रिया दिनुहोस