दाङ । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को नवाैँ दिन आज चर्चित कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुति रहने भएको छ । लोकदोहोरी तथा आधुनिक गीत–संगीतमार्फत् दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने तयारी गरिएको सांस्कृतिक संयोजक गोपाल बुढा मगरले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा चर्चित लोकदोहोरी गायक पुष्कल शर्मा, सुगम सङ्गीतका चर्चित गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी र बिमला खड्काले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछन् । उनीहरूको प्रस्तुति हेर्न ठूलो संख्यामा दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ ।
त्यसैगरी चर्चित मोडल आरुषी मगर तथा सोनी डान्स ग्रुपको नृत्य प्रस्तुति पनि मेलाको आकर्षण रहनेछ । मेलाको सञ्चालन माधव जोन खत्री र दीपक बर्माले गर्नेछन् ।
मेला आयोजक नेपाल मगर सङ्घ घोराहीका अध्यक्ष बेदबहादुर बुढा मगरका अनुसार मेलामा जलपरी र लण्डन ब्रिज विशेष आकर्षणका रूपमा रहेका छन् । माघ १० गतेसम्म सञ्चालन हुने माघे मेला–२०८२ मा हरेक दिन चर्चित कलाकारहरूको प्रस्तुति हुँदै आएको छ, जसले दङाली दर्शकलाई निरन्तर मनोरञ्जन प्रदान गरिरहेको छ ।