घोराही पुस २५ । नेपाल मगर संघ घोराही नगर कमिटीले पुस २७ गते माघ महोत्सव मनाउने भएको छ । महोत्सव सम्पन्न गर्न नगरले विभिन्न उपसमिति चयन गरेको प्रचार प्रसार समितिको संयोजक कैलाश घर्ती मगरले जानकारी दिनुभयो।
महोत्सव भब्य बनाउन नगर समितिले वरिष्ठ उपाध्यक्ष मित्रलाल बुढाको संयोजकत्वमा महोत्सव व्यवस्थापन समिति, उपाध्यक्ष अमरबहादुर घर्तीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, महिला उपाध्यक्ष मल्लिता पुन संयोजक र सहसचिव मीना बुढा सहसंयोजक रहेको अतिथि सत्कार समिति, भाषिक उपाध्यक्ष दिलबहादुर घर्ती मगरको संयोजकत्वमा धनुषवाण व्यवस्थापन समिति र पत्रकार कैलाश घर्ती मगरको संयोजकत्वमा प्रचार प्रसार समिति चयन गरेको छ । महोत्सवमा मगर भेषभुषासहितको झाँकी तथा नृत्य प्रदर्शन र उत्कृष्ट झाँकीलाई कदर पत्रसहित नगद पुरस्कार प्रदान गरिने घर्ती मगरले जानकरी दिनुभयो । महोत्सवमा मगर परिकारहरु सेल रोटी, मासुका परिकार, तरुल राखिने छ । नेपाल मगर संघ दाङको प्राङ्गणमा हुने महोत्सवमा उपस्थितिका लागि सम्पूर्ण मगर तथा गैर मगर समुदायलाई नगर कमिटीले अनुरोध समेत गरेको छ ।

माघ १ गतेलाई मगर तथा थारुहरुले विशेष पर्वका रुपमा मनाउने गरेका छन् । यस पर्वलाई मगरहरुको प्रमुख सांस्कृतिक तथा महान् पर्वको रुपमा लिने गर्दछन् । यस पर्वको अवसरमा मगर समुदायले चेली पुज्ने तथा पितृको पूजा गर्ने दिनका रुपमा मनाउने गर्दछन् । उक्त दिन बिहान पुरुषहरू नुहाइधुवाइ गरेर केही नखाई कुल देवता र पितृको पूजा गरी चेलीबेटीको पूजा गर्ने चलन रहेको छ । पूजा सकिएपछि चेलीबेटीलाई टीका लगाइदिएर गच्छे अनुसारको दक्षिणा तथा उपहारका साथै मीठोमसिनो खानेकुरा दिइन्छ । जसलाई निस्रो, निर्सो, मिस्रा र माना भनिन्छ ।