रोल्पा।रोल्पा जिल्लाको माडी गाउँपालिकाले वर्ष २०८२/०८३ को चौथो त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको बैंक खातामा जम्मा गरेको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्रका ६ वटै वडाका सूचीकृत लाभग्राहीहरूको खातामा उक्त रकम पठाइएको जानकारी दिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश गौतमका अनुसार चौथो किस्ता बापतको सम्पूर्ण सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको खातामा जम्मा भइसकेको छ।
भत्ता वितरण कार्यलाई थप छिटो, छरितो र पारदर्शी बनाउनका लागि गाउँपालिकाले वडा कार्यालयहरूलाई विशेष अनुरोध समेत गरेको छ। सूचनामा जनाइए अनुसार पालिकाभित्र मृत्यु भएका वा बसाइँसराइ गरी गएका व्यक्तिहरूको लगत अनिवार्य रूपमा कट्टा गर्न र वास्तविक लाभग्राहीको मात्र लगत कायम राख्न निर्देशन दिइएको छ। यस प्रक्रियाले भत्ता प्रवाह कार्यलाई थप व्यवस्थित बनाउने विश्वास गाउँपालिकाले लिएको छ।