रोल्पा। रोल्पामा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।
जिल्लाको माडी गाउँपालिका-४ तार्केवाङस्थित स्याङखोलामा सोमबार अपराह्न करिब ४ बजे करेन्ट लागेर घर्तिगाउँ निवासी ३९ वर्षीय हरि बहादुर घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्राप्त जानकारीअनुसार हरि बहादुर घर्ती मगर र कोर्चावाङ निवासी ३४ वर्षीय चालक कर्मलाल घर्ती मगर रा.१ च. ११७४ नम्बरको पिकअप गाडी लिएर खोला पुगेका थिए। चालक कर्मलाल घर्ती मगर गाडी सफा गरिरहेका बेला हरि बहादुर घर्ती मगर आफूसँग रहेको १२ भोल्टको ब्याट्री र तार प्रयोग गरी करिब १५० मिटर पश्चिमतर्फ माछा मार्न गएका थिए।
माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको र खोला किनारमा अचेत अवस्थामा लडिरहेको देखेपछि स्थानीय बाख्रा गोठालाहरूले चालकलाई खबर गरेका थिए। चालक घटनास्थलमा पुगेर हेर्दा घर्ती मगरको मृत्यु भइसकेको अवस्थामा फेला परेका थिए।
घटनाबारे साँझ ५:३० बजे इलाका प्रहरी कार्यालय घर्तिगाउँमा सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले मृतकको शव घटनास्थलमै राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
घटनासँग सम्बन्धित पिकअप गाडी १२ भोल्टको ब्याट्री तथा तार नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्रोत माला श्री।