एपिस ट्रेनिङ सेन्टरबाट एकैपटक २५ जना नेपाली सेनामा छनोट

घोराही । एपिस ट्रेनिङ सेन्टर दाङबाट एकैपटक २५ जना नेपाली सेनामा छनोट भएका छन्।

घोराही–१४ नयाँ बसपार्कस्थित एपिस ट्रेनिङ सेन्टरबाट नेपाली सेना तर्फ तेस्रो ब्याजमा २५ जना युवाहरू छनोट हुन सफल भएका हुन्।
नेपाली सेनाको भर्ना छनोट प्रक्रियामा सफलता हासिल गरेका युवाहरूलाई सोमबार एक कार्यक्रमका बीच हार्दिक बधाई तथा बिदाइ गरिएको छ।


ट्रेनिङ सेन्टरका सञ्चालक दिवाकर बुढा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका पूर्व उपरीक्षक (एसपी) कर्णबहादुर बुढा मगर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव तथा सामुदायिक प्रहरी सेवा दाङका अध्यक्ष कैलाश रोकामगर विशिष्ट अतिथि रहनुभएको थियो।

कार्यक्रममा ट्रेनिङ सेन्टरका संरक्षक तथा युवा व्यवसायी भरत घर्ती मगर र युवा व्यवसायी अनिल डाँगी अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा नेपाली सेनामा छनोट भएका युवाहरूलाई सम्मानसहित मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रमबीचमा प्रस्तुत गरिएको सांस्कृतिक तथा नृत्य प्रस्तुतीले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो। प्रमुख अतिथि बुढा मगरले नेपाली सेनामा छनोट भएका युवाहरूलाई लगनशील, इमानदार र राष्ट्रप्रति समर्पित सेवक बन्न प्रेरणा दिँदै नेपाली सेनाको गौरवशाली इतिहासबारे चर्चा गर्नुभएको थियो।
ट्रेनिङ सेन्टरका म्यानेजर तथा प्रशिक्षक झपेन्द्र घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन थुर्पा अनलाइनका सञ्चालक कैलाश घर्ती मगरले गर्नुभएको थियो।

कार्यक्रममा सहभागी अभिभावकहरूले आफ्ना छोराछोरी नेपाली सेनामा छनोट भएकोमा खुशी व्यक्त गरेका थिए।
यसैबीच, एपिस ट्रेनिङ सेन्टरले नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीमा शतप्रतिशत भर्ना छनोट गराउँदै आइरहेको जनाएको छ। सेन्टरले अनुशासित र गुणस्तरीय प्रशिक्षणमार्फत युवाहरूलाई सुरक्षानिकायमा सफल बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको पनि बताइएको छ।

प्रतिक्रिया दिनुहोस