लुम्बिनी प्रदेश स्तरिय महोत्सव साेमवार प्रताप दासकाे प्रस्तुति

घोराही, १ चैत
घोराहीमा लुम्बिनी प्रदेश स्तरिय महोत्सवमा साेमवार गायक प्रताप दासकाे प्रस्तुति रहने भएकाे छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८ देखी चैत १५ गतेसम्म ‘घरेलु तथा साना उद्याेगकाे विकास र विस्तार, लुम्बिनी प्रदेश समृद्धिकाे आधार’ भन्ने नारा सहित आयाेजना गरिएकाे ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा साेमवार नेपाली संगीत क्षेत्रका चर्चीत गायक प्रताप दासकाे प्रस्तुति रहने आयाेजक मूल समितिले जानकारी दिएकाे छ ।

महाेत्सवकाे तेस्राे दिन साेमवार प्रताप दास सहित गायिका ऋतु शाही, आर.जे.रासकाेटी लगायतका कलाकारहरूकाे प्रस्तुति रहने आयाेजक मूल समितिका संयाेजक लव अधिकारीले जानकारी दिनुभयाे ।
महाेत्सवमा साेमवारदेखी महाेत्सवका विशेष कार्यक्रमहरू सुरू हुने छन् । महोत्सवमा स्थानीय कलाको प्रोत्साहनका लागि विभिन्न प्रतियोगिताहरु सञ्चालन गरिएकाे छ । महोत्सवमा कविता प्रतियोगिता, बाल चित्रकला प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने भएका छन् । विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने एवं प्रतिभाको प्रोत्साहन गर्ने उद्धेश्यले विभिन्न प्रतियोगिताहरुको आयोजना गरिएको छ ।
महोत्सवमा हरेक दिन विषय विशेष कार्यक्रमहरु सञ्चालन हुने छन् । जसमा रोजगार तथा सीप विकास, स्वास्थ्य विशेष, युवा विशेष, केषि तथा पशुपालन विशेष, स्थानीय कला संस्कृति तथा पर्यटन विशेष, औद्योगिक विकास र स्थानीय उत्पादन विशेष, महिला उद्यमशीलता विशेष, शिक्षा तथा बालबालिका विशेष, उद्यामशीलता तथा सुचना प्रविधी विशेष, शान्ति तथा सामाजिक सद्भाव विशेष कार्यक्रमहरु सञ्चालन हुने छन् ।

प्रतिक्रिया दिनुहोस