गायिका शान्ता रानी परियारको शानदार प्रस्तुति माघे मेलामा

दाङ । दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ अन्तर्गत आज आयोजित सांस्कृतिक कार्यक्रम गायिका शान्ता रानी परियारको सशक्त र शानदार प्रस्तुतिसँगै सम्पन्न भएको छ । मेलास्थल दर्शकको उल्लेख्य उपस्थितिले खचाखच भरिएको थियो ।

गायिका शान्ता रानी परियारले, पोखरा पृथ्वी चोकैमा, तिमलाई देखेसी मुटु धुक्क धुक्क, ताना तान भो, हाना हान भो, प्यार गरेको, तथा मत ढले ढले, जस्ता चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई नाच्न बाध्य बनाइन् । उनका एकपछि अर्को हिट गीतमा दर्शक झुम्दै कार्यक्रमको भरपूर आनन्द लिएका थिए ।

यसैगरी, गायिका दिपा बुढाले सानी माया, धारपानी मेलैमा, र ज्यान खाने माया जस्ता गीतमार्फत दर्शकको मन जितिन् भने गायिका दुर्गा नेपालले बटैली शहर, रे रे कति राम्री, जस्ता गीत प्रस्तुत गर्दै सांगीतिक माहोललाई थप आकर्षक बनाइन् ।

सांस्कृतिक कार्यक्रममा हास्यकलाकार माइला बाले आफ्ना रोचक प्रस्तुतीमार्फत दर्शकलाई हसाए । त्यस्तै, डान्सर बबिता धितालको आकर्षक नृत्य प्रस्तुतिले दर्शकबाट ठूलो ताली पायो ।

कार्यक्रमको सफल सञ्चालन गायक तथा उद्घोषक माधव जोन खत्रीले गरेका थिए ।

सांस्कृतिक संयोजक गोपाल बुढा मगरले आजको सांस्कृतिक कार्यक्रम शानदार रूपमा सम्पन्न भएको बताउँदै दर्शकको उत्साहजनक सहभागिताले कलाकारहरूलाई थप हौसला मिलेको प्रतिक्रिया दिए । उनले आगामी दिनहरूमा पनि अझ प्रभावशाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने जानकारी दिए ।

दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ ले स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको आयोजक अध्यक्ष बेद बहादुर बुढा मगरले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस