दाङ । घोराही उपमहानगरपालिकाले मगर खाम भाषाको पाठ्यक्रम निर्माण गर्न सुझाव संकलन गरेको छ । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोग र नेपाल मगर संघ घोराही उपमहानगरपालिका नगर समितिको आयोजनामा उक्त कार्यक्रम गरेको हो ।
घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको अध्यक्षता तथा उपमहानगरपालिकाका उप मेयर हुमा डि.सी.को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले कसैको पनि जातीको भाषा संस्कृति लोप हुन नहुने कुरामा जोड दिनुभयो । भाषा संस्कृति ती जातीको पहिचान भएकोले त्यस लाई संरक्षण संवर्धान गर्ने त्यस जातीको मात्रै नभएर सरकारको दायित्व भएको भन्दै उहाँले त्यसैका लागि उपमहानगरपालिकाले मगरहरुको भाषाको पाठ्यक्रम निर्माण गर्न लागेको बताउनु भयो । उहाँले अहिले उपमहानगरपालिकामा थारु भाषाको पाठ्यक्रम संचालनमा रहेको भन्दै मगर भाषाको पाठ्यक्रमको लागि स्थानीय सरकार लागि परेको बताउनुभयो ।

सभापतिको आसन बाट बोल्दै मेयर चौधरीले कतिपय जनजाति हरुको लिपि नभए पनि भाषा भाषा भएकोले त्यसै लाई पनि संरक्षण गर्न जरुरी भएको बताउनुभयो । तुलनात्मक रुपमा थारु भन्दा मगरहरुले आफ्नो भाषा बिर्सदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । त्यसैको लागि पनि मगर भाषाको पाठ्यक्रम बनाउन लागिएको उहाको जिकिर छ । थारु जस्तै कुसुन्दाको पनि भाषा प्रशिक्षण गरिए पनि संख्यात्मक रुपमा कम हुदा पाठ्यक्रम उत्पादन गर्न नसकेको र मगर बाहुल्य भएका कारण पाठ्यक्रम उत्पादन नै गरेर स्कुलमै पठनपाठन गर्ने बताउनुभयो ।

कार्यक्रममा मगर भाषाका लेखक जुकुती पुन मगरले पाठ्यक्रम का लागि तयार पारेको पुस्तक पुनको स्वास्थ्यका कारण अनुपस्थितमा उहाँका भाइ तिलक प्रसाद पुनले पुस्तक बारे प्रष्ट पार्नुभएको थियो ।
सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण नेपाल मगर संघ घोराही उपमहानगरपालिका नगर समितिका अध्यक्ष बेद बहादुर बुढा मगरले गर्नुभएको हो ।