नेपाल मगर संघ घोराही नगर सचिवालय बैठक नगर अध्यक्ष बेद बहादुर बुढा मगरको अध्यक्षतामा आज बसेको छ। घोराही १३ मगर संघको कार्यलयमा बैठक बसेको हो। नेपाल मगर संघ घोराही नगर कमितिको आयोजनामा पुष २७ गते भोलि हुने माघ महोत्सव २०८० को अन्तिम तयारी भएको बैठकले निष्कर्ष निकालेको छ।

घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुने माघ महोत्सवमा मगर भेषभुषासहितको झाँकी धनुषवाण तथा नृत्य प्रदर्शन हुने छ। उत्कृष्ट झाँकीलाई कदर पत्रसहित नगद पुरस्कार प्रदान गर्ने प्रचार प्रसार समितिका संयोजक कैलाश घर्ती मगरले जानकारी दिनुभयो। महोत्सवमा मगर परिकारहरु सेल रोटी, मासुका परिकार, तरुल आदि राखिने छ। महोत्सव व्यवस्थापन उपसमितिहरुले सबै तयारी पुरा गरेको पनि घर्ती मगरले जानकारी दिनुभयो ।

पुष २७ गते भोलि नेपाल मगर संघ दाङको प्राङ्गणमा हुने महोत्सवमा उपस्थितिका लागि सम्पूर्ण मगर समुदाय गैर मगर समुदायलाई आज बसेको नगर कमिति सचिवालय बैठकले अनुरोध समेत गरेको छ । माघ १ गतेलाई मगर तथा थारुहरुले विशेष पर्वका रुपमा मनाउने गरेका छन् । यस पर्वलाई मगरहरुको प्रमुख सांस्कृतिक तथा महान् पर्वको रुपमा लिने गरिन्छ।