कार्यक्रमको सुरुवात आमा समूहकी उपाध्यक्ष भावना वली को स्वागत मन्तव्यबाट भएको थियो । कार्यक्रमको सहजीकरण सचिव अनिता खड्का वली ले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा मुख्य प्रशिक्षक बिनोद गौतमले मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध रहेको खानेपानी स्वच्छ र सुरक्षित हुनु अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले दैनिक उपभोग गरिने पानीमा देखिन नसक्ने विभिन्न किसिमका जीवाणु तथा रासायनिक तत्वका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले नियमित रूपमा पानी परीक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले पानी उमालेर पिउने, पानी संकलन गर्ने भाँडा सफा राख्ने, ढल तथा फोहोरको असरबाट पानीका स्रोत जोगाउने तथा आवश्यक परे फिल्टर प्रयोग गर्ने विषयमा समेत जानकारी दिनुभएको थियो । कार्यक्रममा सहभागीलाई पानीको गुणस्तर परीक्षण गर्ने तरिका, दूषित पानीबाट हुने रोग तथा त्यसबाट बच्ने उपायबारे प्रशिक्षणसमेत प्रदान गरिएको थियो ।कार्यक्रममा विकासनगर टोल विकास संस्था का सचिव दीपक वली ले शुभकामना मन्तव्य व्यक्त गर्दै समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमले नागरिकको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले स्वच्छ खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले सबैले यसतर्फ गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा स्थानीय आमा समूहका सदस्य, टोलवासी तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले कार्यक्रमबाट आफूहरूले प्रयोग गर्दै आएको पानीको गुणस्तरबारे जानकारी पाएको तथा सुरक्षित पानी प्रयोगसम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेको बताएका थिए ।
© thurpaonline.com, All Rights Reserved.