ट्रिपरको ठक्करबाट बाबुछोराको मृत्यु आमा घाइते

घोराही। दाङको तुलसीपुरस्थित गुल्म चोकमा सोमबार बिहान ट्रिपरको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ भने आमा घाइते भएकी छन्।
प्रहरीका अनुसार रा १ ख २१९२ नम्बरको ट्रिपरले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिरान्स नेपालीको मृत्यु भएको हो।
गम्भीर घाइते बाबुछोरालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो। मिरान्सको उपचारका लागि लैजाँदै गर्दा बाटोमै र मनोजको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मनोजकी श्रीमती ३४ वर्षीया अनुसा नेपाली सामान्य घाइते भएकी छन्। उनको उपचारपछि डिस्चार्ज गरिएको छ। उनीहरू बिदा परेकाले तुलसीपुर-६ स्थित ससुराली आएका थिए। आज छोरालाई विद्यालय पठाउनुपर्ने भएकाले उहाँहरू बिहानै घर हिँडेको केही बेरमै दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

ट्रिपर चालक शेरबहादुर थापा र ट्रिपरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको दाङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस