दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
आइतबार बिहान अमिलियाबाट तुलसीपुरतर्फ आउँदै गरेको लु.०२–००२प २४८६ नम्बरको मोटरसाइकल राप्ती राजमार्ग अन्तर्गत अमिलियादेखि करिब दुई किलोमिटर नजिकै आफैँ अनियन्त्रित भई सडकबाट करिब पाँच मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक तुलसीपुर उपमहानगरपालिका–७ रामनगर निवासी २३ वर्षीय नोखिराम केसी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बावुराम बस्नेतले जानकारी दिनुभयो।
मोटरसाइकलमा पछाडि सवार सल्यानको बागचौर नगरपालिका–११ वाफुखोला निवासी २१ वर्षीय बिरेन्द्रकुमार खड्का घाइते भएका छन्। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।