घोराही। लुम्बिनी प्रदेश हाप्किडो संघको सचिवमा रुपा बुढा मगर सर्वसम्मत रूपमा चयन भएकी छन्।
दाङको घोराहीमा शुक्रबार बसेको संघको बैठकले प्रदेश कार्यसमितिलाई पुनर्गठन गर्दै बुढा मगरलाई सचिव पदको जिम्मेवारी प्रदान गरेको हो।
लुम्बिनी प्रदेश हाप्किडो संघका उपाध्यक्ष त्रिभुवन बर्तौलाको अध्यक्षता तथा नेपाल हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तीमगर को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले हाप्किडो घोराही नगर अध्यक्षसमेत रहेकी बुढा मगरलाई प्रदेश कार्यसमितिको सचिवमा चयन गरेको हो।
लामो समयदेखि हाप्किडो खेलको विकास, खेलाडी उत्पादन तथा विभिन्न खेलकुद गतिविधिमा सक्रिय रहँदै आएकी बुढा मगरको चयनले लुम्बिनी प्रदेशमा हाप्किडो खेलको विकास, विस्तार र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सचिव पदमा सर्वसम्मत रूपमा चयन भएकी बुढा मगर हाल घोराही उपमहानगरपालिका–१३ स्थित बहरा शक्ति हाप्किडो प्रशिक्षण केन्द्रकी प्रमुख प्रशिक्षकका रूपमा कार्यरत छिन्। हाप्किडो खेलको प्रवर्द्धन तथा नयाँ खेलाडी उत्पादनमा उनको योगदान उल्लेखनीय रहेको खेलकर्मीहरूले बताएका छन्।