पूर्व संघीय सांसद ईश्वरीले उठाइन् अडियो प्रकरणमा संलग्न दुवै पक्षमाथि छानबिनको माग
काठमाडौ। खगेन्द्र सुनारसँग सम्बन्धित भनिएको सार्वजनिक अडियोप्रति आपत्ति जनाउँदै नेकपा एमालेकी पूर्व संघीय सांसद ईश्वरी घर्ती मगरले संवादमा संलग्न महिला र उनका छोराको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्। उनले अडियोमा सुनिएका अभिव्यक्ति गम्भीर रहेको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन दोषीमाथि कानुनी कारबाही र पीडितलाई न्याय दिनुपर्ने बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ईश्वरीले सबैभन्दा पहिले अडियोमा संवाद गर्ने महिला र उनका छोरालाई सरकारले तत्काल सुरक्षित स्थानमा राख्नुपर्ने माग गरेकी हुन्। अडियोमा सुनिएका अभिव्यक्तिले उनीहरू असुरक्षित हुन सक्ने आशङ्का व्यक्त गर्दै सरकारले सम्भावित जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ।
घर्ती मगरले अडियो प्रकरणमा सुनारको भूमिकामाथि छानबिन हुनुपर्ने बताउँदै संवादमा संलग्न महिला पनि सार्वजनिक जीवनमा जिम्मेवार पदमा रहेकी व्यक्ति भएको पुष्टि भएमा उनी आबद्ध राजनीतिक दलले समेत घटनाबारे आन्तरिक छानबिन गर्नुपर्ने धारणा राखेकी छन्।
अडियोमा सुनिएका संवादका आधारमा सम्बन्धित व्यक्तिहरूबीच लामो समयदेखि सम्बन्ध रहेको हुन सक्ने आफ्नो बुझाइ रहेको उल्लेख गर्दै उनले अन्तिम अवस्थामा मात्रै उक्त विषय सार्वजनिक भएको हुन सक्ने आशङ्का व्यक्त गरेकी छन्। त्यसैले घटनाको वास्तविकता पत्ता लगाउन दुवै पक्षको भूमिका र संलग्नताबारे निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ।
सुनार आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि यस विषयलाई गम्भीरतापूर्वक लिएर पार्टीभित्रको अनुशासनसम्बन्धी प्रक्रिया अघि बढाउनुपर्ने घर्ती मगरको धारणा छ। उनले निर्वाचित जनप्रतिनिधिले जनताको मत प्राप्त गरेको आधारमा कार्यकालभरि जस्तोसुकै व्यवहार गर्न छुट नपाउने उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिहरू आफ्नो बोली र आचरणप्रति जिम्मेवार हुनुपर्ने बताएकी छन्।
त्यस्तै निर्वाचित प्रतिनिधिलाई कार्यकाल पूरा हुनुअघि फिर्ता बोलाउने राइट टु रिकल सम्बन्धी कानुनी व्यवस्थाको अभाव औँल्याउँदै ईश्वरीले सम्बन्धित निर्वाचन क्षेत्रका बहुमत मतदाताले हस्ताक्षर अभियान सञ्चालन गरी सुनारलाई राजीनामा दिन नैतिक दबाब सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।
उनले घटनामा संलग्न सबै पक्षमाथि निष्पक्ष छानबिन हुनुपर्ने सम्भावित पीडितको सुरक्षा सुनिश्चित गरिनुपर्ने र दोषी देखिएकालाई कानुनअनुसार कारबाही गरिनुपर्ने माग गरेकी छन्।
अडियोको प्रामाणिकता त्यसमा सुनिएका अभिव्यक्तिको सन्दर्भ र घटनामा संलग्न व्यक्तिहरूको भूमिकाबारे सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी रहेकाले निष्पक्ष छानबिनपछि मात्रै यथार्थ सार्वजनिक हुने अपेक्षा गरिएको छ।