हर्क साम्पाङसँगको भेटघाट व्यक्तिगत मात्रै पार्टी प्रवेश गरेको होइन दर्जित रोका मगर

दाङ । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङ दाङ भ्रमणका क्रममा नेपाल मगर संघका पूर्व केन्द्रीय उपाध्यक्ष दर्जित रोका मगरसँग भएको भेटघाटलाई लिएर सामाजिक सञ्जालमा विभिन्न चर्चा सुरु भएको छ। पत्रकार गोविन्द खड्काले खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको उक्त भेटघाटको तस्बिर व्यापक चर्चामा आएपछि दर्जित रोका मगरले सो विषयमा आफ्नो धारणा सामाजिक सञ्जालबाट स्पष्ट पारेका छन्।

१२ वर्षकै उमेरदेखि तत्कालीन माओवादी जनयुद्धका क्रममा बाल संगठन थबाङको अध्यक्ष विद्यार्थी संगठन हुँदै एरिया कलाकारको अध्यक्ष तथा विशेष जिल्ला जनदिशा अभियानको कमान्डरसम्मको महत्त्वपूर्ण भूमिका निर्वाह गरेका रोका मगर हाल भने प्रत्यक्ष राजनीतिबाट टाढा रहँदै सामाजिक सेवामा सक्रिय छन्।

नेपाल मगर संघका पूर्व केन्द्रीय उपाध्यक्षसमेत रहेका रोका मगरले उक्त भेटघाट केवल सामान्य चिया गफ र समसामयिक राजनीतिमाथिको विचार विमर्श मात्र भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले भनेका छन्, हर्क साम्पाङज्यू दाङ आउनुभएको बेला उहाँसँग सामान्य भेटघाट र चिया गफ मात्र भएको हो। देशको समसामयिक राजनीति वर्तमान अवस्था र परिवर्तनका विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले गफगाफ गरेका हौँ। तर फोटोकै आधारमा पार्टी प्रवेश गर्‍यो भनेर टिप्पणी गर्नु संकीर्ण सोच हो।

भेटका क्रममा साम्पाङले स्वागत सम्मान गर्दै पार्टीको चिनारीस्वरूप उपहार प्रदान गरेको र त्यसलाई आतिथ्यका रूपमा स्विकारिएको उनले उल्लेख गरेका छन्। कसैसँग भेट्दैमा संवाद गर्दैमा वा उपहार स्वीकार गर्दैमा कुनै पार्टीमा प्रवेश गरेको भन्नू गलत हुने उनको भनाइ छ।

विगतको आफ्नो वैचारिक एवं राजनीतिक यात्राबारे स्पष्ट पार्दै रोका मगरले हाल आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको र स्वतन्त्र भएर समाज देश र जनताको अवस्थालाई बुझ्ने प्रयास गरिरहेको बताएका छन्। हामी पार्टी फेर्दै हिँड्ने सूचीमा पर्दैनौँ। हिजो क्रान्तिकारी आन्दोलनमा थियौँ आज कुनै दलको झन्डामुनि छैनौँ। यसको अर्थ हाम्रो विचार मरेको वा समाजप्रतिको उत्तरदायित्व सकिएको होइन, उनले लेखेका छन्।

साथै उनले सो भेटघाट नितान्त व्यक्तिगत भएको स्पष्ट पार्दै यसलाई नेपाल मगर संघ नगर वा जिल्ला संस्थागत समितिहरूसँग जोडेर अनावश्यक आरोप प्रत्यारोप नगर्न पनि आग्रह गरेका छन्। भेटघाट विचार विमर्श र प्रश्न गर्ने अधिकार हरेक नागरिकमा हुने भएकाले एउटा तस्बिरकै आधारमा पूर्वाग्रह राखेर गलत निष्कर्ष नलिन उनले सबैमा अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस