भारतको हिमाचल प्रदेशको किन्नौरमा दसैँ कार्यक्रम टीका सानु र छत्र शाहीको प्रस्तुति हुँदै

किन्नौर भारत। भारतको हिमाचल प्रदेशस्थित किन्नौर जिल्लामा नेपालीहरूको महान् पर्व बडादसैँको अवसर पारेर विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। प्रवासी साझा मञ्च हिमाचल प्रदेश भारतको आयोजनामा आगामी अक्टोबर २१ र २२ तारिखका दिन रिकाङपिओस्थित बचत भवनमा कार्यक्रम हुन लागेको हो।

कार्यक्रममा चर्चित लोकदोहोरी गायिका टीका सानु र गायक छत्र शाही मुख्य आकर्षणका रूपमा रहनेछन्। उनीहरूका साथै अन्य चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुतिले दसैँको उल्लासलाई थप रौनकपूर्ण बनाउने आयोजकले अपेक्षा गरेको छ।

कार्यक्रममा कलाकारहरू दिल्ली परियार विजय बिरुवा अर्जुन भुसाल रमेश विक र अस्मिता खत्रीलगायतले पनि आ आफ्ना सांगीतिक प्रस्तुति दिनेछन्। नेपाली लोकगीत संगीत र मौलिक संस्कृतिमार्फत प्रवासमा रहेका नेपालीहरूलाई दसैँको खुसी साटासाट गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।

प्रवासी साझा मञ्चका केन्द्रीय अध्यक्ष सीपी शर्माका अनुसार प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्नुका साथै नेपाली कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

भारतका विभिन्न स्थानमा रोजगारी मजदुरी पेसा तथा व्यवसायमा संलग्न भई बसोबास गर्दै आएका नेपालीहरूलाई दसैँको अवसरमा एकै ठाउँमा भेला गराएर आपसी आत्मीयता बढाउने खुसी साटासाट गर्ने र नेपाली मौलिक संस्कृतिलाई जीवन्त राख्ने लक्ष्य कार्यक्रमले लिएको छ।

परदेशमा रहेर पनि आफ्नो भाषा संस्कृति परम्परा र चाडपर्वप्रतिको अपनत्व कायम राख्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ। कार्यक्रमले नेपाली समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नयाँ पुस्तामा नेपाली कला र संस्कृतिप्रतिको रुचि जगाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रवासी साझा मञ्च हिमाचल प्रदेश भारतले हिमाचल प्रदेश तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई सांस्कृतिक उत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।

प्रतिक्रिया दिनुहोस