भोटेकोसीमा पाँच श्रमिक बेपत्ता शोकमा डुबेको पातिहाल्न गाउँलाई वैदेशिक सहयोग

डि बि संघर्ष रोल्पा। गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी रोल्पाको सुनिलस्मृति गाउँपालिका- ६ गजुलकोट स्थित पातिहाल्न टोलका पाँच जना श्रमिक बेपत्ता भएपछि सिंगो गाउँ शोकमा डुबेको छ। लामो समय बितिसक्दा पनि बेपत्ता श्रमिकहरूको अवस्था अज्ञात रहँदा परिवारजन गहिरो पीडामा छन्।यही वियोगका कारण गाउँलेले यस वर्षको तीज पर्वसमेत मनाएनन् भने नजिकिँदै गरेका दशैँ तिहार जस्ता ठूला चाडपर्व कसरी कटाउने भन्ने अन्योलमा उनीहरू छन्। यस्तो कठिन र दुःखद घडीमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले पीडित परिवारको घाउमा मलम लगाउँदै सहयोगको हात बढाएका छन्।यसै क्रममा वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका एकराज सुवेदीको नेतृत्वमा बसन्त थापा, शिवलाल केसीलगायतको टोलीले संकलन गरेको रु. ७० हजार राहत रकम पठाएको छ। यस्तै सुलिचौरका स्थानीय व्यवसायी खोपिलाल डाँगीले रु. २ हजार ५ सय र व्यापारी जालिम मियाले रु. २ हजार ५ सय गरी थप रु. ५ हजार सहयोग गरेका छन्। वैदेशिक रोजगारीबाट प्राप्त रु. ७० हजार र स्थानीय स्तरमा संकलित रु. ५ हजार गरी कुल रु. ७५ हजार रकम शनिबार एक कार्यक्रमका बीच पीडित परिवारलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको छ।उक्त रकम सुलिचौरका स्थानीय व्यवसायी खोपिलाल डाँगीमार्फत सुनिलस्मृति गाउँपालिका-६ का वडा अध्यक्ष लोकेन्द्रबहादुर थापाको उपस्थितिमा पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।सहयोग रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष लोकेन्द्रबहादुर थापाले विपत्तिको यस कठिन घडीमा पीडित परिवारलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले बेपत्ता श्रमिकहरूको खोजी राहत तथा दीर्घकालीन व्यवस्थापनका लागि वडा र गाउँपालिका तहबाट सम्बन्धित माथिल्लो निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए।आफन्तको अवस्था अज्ञात रहँदा लामो समयदेखि अनिश्चितता र गहिरो पीडामा रहेका परिवारका लागि परदेशमा रहेका नेपाली तथा स्थानीय समाजसेवीले दर्शाएको यो मानवीय सहयोगले संकटको बेला ठूलो ढाडस र राहत मिलेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस