वैदेशिक रोजगारका पीडितलाई न्याय दिलाउन योगदान पुर्याएको भन्दै दाङका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय सम्मानित
दाङ घोराही। आप्रवासी श्रमिक सञ्जाल लुम्बिनी प्रदेशले वैदेशिक रोजगारका क्रममा ठगी तथा अन्यायमा परेका श्रमिकलाई न्याय दिलाउन क्षतिपूर्ति उपलब्ध गराउन तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गरेको मूल्याङ्कन गर्दै दाङका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी कार्यालय दाङलाई सम्मान गरेको छ।
सञ्जालका लुम्बिनी प्रदेश अध्यक्ष रोशन गिरीको नेतृत्वमा बुधबार घोराहीस्थित जिल्ला प्रशासनको कार्यालय दाङमा आयोजित कार्यक्रममा उक्त सम्मान गरिएको हो।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये उत्कृष्ट कार्यसम्पादनका आधारमा सञ्जालले सात जिल्लालाई सम्मान गरेको हो। सम्मानित हुने जिल्लामा दाङ पाल्पा रुपन्देही कपिलवस्तु अर्घाखाँची बर्दिया र पश्चिम नवलपरासी रहेका छन्।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। विशिष्ट अतिथिका रूपमा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डीसी सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक एसपी दीपक श्रेष्ठ तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनको उपस्थिति रहेको थियो।
कार्यक्रममा आप्रवासी श्रमिक सञ्जाल लुम्बिनी प्रदेशका अध्यक्ष रोशन गिरीले वैदेशिक सुरक्षित आप्रवासन सञ्जालको उद्देश्य गतिविधि तथा भूमिकाबारे जानकारी गराउँदै नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले सुरक्षित मर्यादित र कानुनी प्रक्रियामार्फत वैदेशिक रोजगारमा जान प्रेरित गर्ने ठगी तथा शोषण न्यूनीकरण गर्ने तथा पीडितलाई आवश्यक कानुनी र संस्थागत सहयोग उपलब्ध गराउने कार्यमा सञ्जाल सक्रिय रहेको जानकारी दिनुभयो।
विशिष्ट अतिथि घोराही उपमहानगरपालिकाकी उप-प्रमुख डीसीले स्थानीय सरकारअन्तर्गत वैदेशिक रोजगार शाखा सञ्चालनमा रहेको उल्लेख गर्दै उक्त शाखाले सुरक्षित वैदेशिक रोजगार प्रवर्द्धन गर्न तथा वैदेशिक रोजगारसम्बन्धी ठगी न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले यस क्षेत्रमा सञ्जाल र स्थानीय सरकारबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी पाण्डे तथा जिल्ला प्रहरी प्रमुख श्रेष्ठले सञ्जालले वैदेशिक रोजगारका क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको सहजीकरण आप्रवासी श्रमिक सञ्जाल लुम्बिनी प्रदेशका महासचिव खेमराज पुनले गर्नुभएको थियो।