घोराही दाङ। रोल्पाली उवा समाज सेवा घोराही दाङको आयोजनामा सञ्चालित नोकोबाङ्गे राँके तिवार पर्व बुधबार मुर्ला उठाई विधिवत् समापन गरिएको छ। असार १ गतेदेखि ६ गतेसम्म घोराही उपमहानगरपालिका-१३ तुरुन्तपुरमा सञ्चालन भएको पर्व मगर समुदायको मौलिक संस्कृति परम्परा रीतिरिवाज तथा सामूहिक एकताको अनुपम उदाहरणका रूपमा सम्पन्न भएको हो।
समापन समारोह समाजका अध्यक्ष विक्रम रोका मगरको अध्यक्षता तथा रोल्पाली सेवा समाज रोल्पाका केन्द्रीय आर्थिक सल्लाहकार एवं समाजसेवी हिकमतसिङ रोका मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
प्रमुख अतिथि रोका मगरले जन्मथलोभन्दा टाढा कर्मथलोबाट आएर प्रमुख अतिथिका रूपमा सम्मानपूर्वक आमन्त्रण गरिएकोमा आयोजकप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आफू थबाङ्गी मात्र नभई उवा क्षेत्रसँग पनि पारिवारिक सम्बन्ध रहेको उल्लेख गर्दै आफ्नी आमाको माइती तथा जन्मथलो उवा खोला भएकाले आफूलाई उवाली भएको अनुभूति हुने बताउनुभयो।
उहाँले पुर्खौंदेखि संरक्षण हुँदै आएको मगर समुदायको मौलिक कला संस्कृति भाषा भेषभूषा तथा रीतिरिवाजलाई कुनै पनि अवस्थामा बिर्सन नहुने धारणा राख्दै यिनको पुस्तान्तरण आजको आवश्यकता भएको बताउनुभयो। उवा क्षेत्रका नागरिकहरूले आफ्नो मौलिक पहिचान जोगाउन रोल्पादेखि दाङसम्म आएर राँके तिवार सञ्चालन गर्नु अत्यन्त प्रशंसनीय कार्य भएको उहाँको भनाइ थियो।
बेलायती सेनाबाट अवकाश प्राप्त गरी हाल बेलायतमा बसोबास गरिरहनुभएका रोका मगरले विदेशमा रहेर पनि आफ्नो धर्म संस्कार संस्कृति र सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिइरहेको उल्लेख गर्नुभयो। सोही अवसरमा उहाँले आफ्नै लेखनमा प्रकाशित मगर खाम भाषाको गजल सङ्ग्रह पुर्खाराइ चिनाबाट केही रचना वाचन गर्नुभयो। साथै मरिन्छ बाँचिन्छ बुकी फूल फुल्ने बेलैमा बोलको गीत प्रस्तुत गर्दै सहभागीहरूलाई नचाएर कार्यक्रमलाई थप उल्लासमय बनाउनुभयो। आगामी वर्ष पनि समयले साथ दिए पुनः यही राँके तिवारमा सहभागी हुने प्रतिबद्धतासहित उहाँले शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल मगर संघ राप्ती गाउँपालिका-१ का सचिव देउसिङ पुन मगर तथा उवा समाजकी अग्रज जुनकुमारी रोका मगरले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। पुन मगरले मगर समुदायको संस्कार संस्कृति र पहिचानको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो। रोका मगरले स्वर्गीय छोरा हिमाल सन्तोषको भावुक स्मरण गर्दै आगामी वर्ष राँके तिवार एक दिन थप सञ्चालन गर्न आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
रोल्पाको उवा क्षेत्रबाट दाङका विभिन्न स्थानमा बसोबास गर्ने उवालीहरूको साझा संस्था रोल्पाली उवा समाज सेवा घोराही दाङले स्थापना भएको छोटो समयमै विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिमार्फत समुदायलाई एकताबद्ध गर्दै आएको छ। समाजले हरेक वर्ष आयोजना गर्दै आएको राँके तिवार मगर समुदायको मौलिक संस्कृति परम्परा र प्रकृतिप्रतिको आस्थासँग जोडिएको महत्वपूर्ण पर्व हो। यस पर्वमा प्राकृतिक विपत्ति रोगव्याधि तथा अनिष्टबाट रक्षा होस् भन्ने कामनासहित भूमी तथा प्रकृतिको पूजा गर्ने प्रचलन रहेको छ।
समाजले भवन निर्माणका लागि जग्गा खरिद गरिसकेको भए पनि भवन निर्माण कार्य अझै बाँकी रहेको छ। भवन निर्माणलाई सहयोग पुर्याउने उद्देश्यले राँके तिवार अवधिभर सहभागी तथा शुभेच्छुकहरूबाट स्वेच्छिक आर्थिक सहयोग सङ्कलन गरिएको थियो।
कार्यक्रम अवधिभर आर्थिक नैतिक तथा अन्य विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने सहयोगदाता समाजसेवी तथा शुभेच्छुकहरूलाई सम्मानपत्र प्रदान गरी कृतज्ञता व्यक्त गरिएको थियो।
समापन समारोहको प्रारम्भमा समाजका सल्लाहकार दिलबहादुर घर्ती मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजकी सचिव सुनकुमारी घर्ती मगरले कुशलतापूर्वक गर्नुभएको थियो।
समापन गर्दै समाजका अध्यक्ष विक्रम रोका मगरले असार १ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको राँके तिवार पर्वलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगदाता अतिथि सहभागी कलाकार स्वयंसेवक सञ्चारकर्मी तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले यस्ता सांस्कृतिक पर्वहरूले समुदायबीचको आत्मीयता एकता र मौलिक पहिचानलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै आगामी वर्ष अझ भव्य रूपमा राँके तिवार आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।