घोराही। रोल्पाली उवा समाज सेवा दाङको आयोजनामा साउन १ गतेदेखि सुरु भएको नोकोबाङ्गे राँके तिहार पर्वको पाँचौँ दिनको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पर्व एक दिन थप गरी साउन ६ गतेसम्म सञ्चालन गर्ने आयोजकले जनाएको छ।
समाजका अध्यक्ष विक्रम रोका मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय निवर्तमान उपाध्यक्ष दर्जित रोका मगर प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथि रोका मगरले मगर समुदायको महान् पर्व नोकोबाङ्गे राँके तिहारको शुभकामना व्यक्त गर्दै रोल्पा रुकुमलगायत जिल्लाबाट दाङमा बसाइँसराइ गरी आएका मगर समुदाय अब एकजुट भएर घोराही उपमहानगरपालिकाको नेतृत्व तहसम्म पुग्नुपर्ने बताउनुभयो। घोराहीमा अब सकारात्मक परिवर्तन आवश्यक रहेको र त्यसका लागि मगर समुदायको सक्रिय सहभागिता तथा नेतृत्व अपरिहार्य रहेको उहाँको भनाइ थियो।
उहाँले थबाङ र उवा क्षेत्रबीच ऐतिहासिक तथा भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै मगर समुदायको मौलिक कला संस्कृति र परम्पराको संरक्षण पुस्तान्तरण तथा दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिनुभयो। साथै यो पर्व सबै समुदायको साझा सांस्कृतिक उत्सवका रूपमा स्थापित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि नेपाल मगर संघका केन्द्रीय निवर्तमान सदस्य सारदा पुन मगरले राज्यले नोकोबाङ्गे राँके तिहारजस्ता मगर समुदायका मौलिक पर्वको उचित मूल्याङ्कन गर्नुपर्ने बताउँदै उवा समाजका लागि सम्बन्धित निकायसँग समन्वय गरी बजेट व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा लुगुम्याल खाम समाज दाङका अध्यक्ष धरम बुढा मगर तथा नाखा राङ्सी सेवा समाज दाङका अध्यक्ष उदयमान पुन मगरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा आमन्त्रित लुगुम्याल खाम समाज दाङ र थबाङ्गी समाज दाङका पदाधिकारी तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भ समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार वीरेन्द्र घर्ती मगरको स्वागत मन्तव्यबाट भएको थियो। कार्यक्रमको सञ्चालन समाजकी सचिव सुनकुमारी घर्ती मगरले गर्नुभएको थियो।
समापनका क्रममा सभाध्यक्ष विक्रम रोका मगरले उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै राँके तिहार पर्व एक दिन थप गरी साउन ६ गतेसम्म सञ्चालन हुने जानकारी गराउनुभयो।