रोल्पाली उवा समाज दाङको नोकोबाङ राँके तिवार तेस्रो दिन पनि हर्षोल्लासका साथ सम्पन्न

घोराही। रोल्पाली उवा समाज दाङद्वारा आयोजना गरिएको नोकोबाङ राँके तिवार पर्व तेस्रो दिन आइतबार पनि हर्षोल्लासका साथ सम्पन्न भएको छ।

रोल्पा जिल्लाको उवा क्षेत्रबाट बसाइँसराइ गरी दाङका विभिन्न स्थानमा बसोबास गर्दै आएका उवावासीहरूले पुस्तौँदेखि संरक्षण गर्दै आएको मौलिक कला संस्कृति र परम्परालाई निरन्तरता दिँदै साउन १ गतेदेखि यो पर्व मनाउँदै आएका हुन्। पर्वमा परम्परागत मगर मौलिक नृत्य गीत तथा सांस्कृतिक प्रस्तुति आकर्षणका रूपमा प्रस्तुत भइरहेका छन्।

घोराही उपमहानगरपालिका-१३ तुरुन्तपुरस्थित समाजको आफ्नै मैदानमा आयोजित तेस्रो दिनको कार्यक्रम समाजका अध्यक्ष विक्रम रोका मगरको अध्यक्षतामा

तथा रोल्पाली सेवा समाज रोल्पाका केन्द्रीय अध्यक्ष डिलाराम वलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रमुख अतिथि वलीले शुभकामना मन्तव्य व्यक्त गर्दै रोल्पाबाट बसाइँसराइ गरेर दाङमा आए पनि आफ्ना मौलिक संस्कृति र परम्परालाई जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु अत्यन्त प्रशंसनीय कार्य भएको बताउनु भयो। उहाँले यस पर्वले विभिन्न जातजातिबीचको आपसी सद्भाव एकता र सांस्कृतिक सहअस्तित्वलाई थप मजबुत बनाएको उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य नरेन्द्र बुढा मगर बलु आरके मोबाइल सेवाका सञ्चालक तथा नेपाल मगर संघ बुद्ध सेवा समाज दाङका अध्यक्ष मनि बुढा मगर लगायतका विशिष्ट अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि पत्रकार तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस अवसरमा जन्मभूमि तकसेरा समाज तुलसीपुर नेपाल मगर संघ तुलसीपुर तथा रोल्पाली उवा खाम एकता समाज तुलसीपुर-१८ सातखोलीका सदस्यहरू मगर समुदायको मौलिक भेषभूषामा सजिएर बाजागाजासहित कार्यक्रमस्थलमा प्रवेश गरेका थिए। उनीहरूको सांस्कृतिक झाँकी र मौलिक नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रमभर मौलिक नृत्य तथा गीत संगीत प्रस्तुत गरिएको थियो। समाजका कोषाध्यक्ष वीरबहादुर रोका मगरले स्वागत मन्तव्य व्यक्त गरेका कार्यक्रमको सञ्चालन समाजकी सचिव सुनकुमारी घर्ती मगरले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस