साउने झरीबीच पनि उल्लासका साथ मनाइयो रोल्पाली उवा समाज सेवा दाङको नोकोबाङ राँके तिवार

घोराही साउन २। रोल्पाली उवा समाज सेवा दाङद्वारा आयोजित नोकोबाङ राँके तिवार पर्वको दोस्रो दिनको कार्यक्रम शनिबार उत्साहपूर्वक सम्पन्न भएको छ।

समाजका अध्यक्ष विक्रम रोका मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेशका अध्यक्ष खलुप्रसाद पुन मगर प्रमुख अतिथि रहनुभएको थियो।

प्रमुख अतिथि पुन मगरले नोकोबाङ राँके तिवार पर्वको शुभकामना व्यक्त गर्दै यस्ता सांस्कृतिक पर्वले मगर समुदायको कला संस्कृति परम्परा र पहिचानको संरक्षण गर्नुका साथै समुदायबीच एकता र सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिद्वय नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिका अध्यक्ष मुक्त बुढा मगर तथा नेपाल मगर संघ घोराही नगर समितिका अध्यक्ष बेदबहादुर बुढा मगरले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

त्यसैगरी रोल्पाली समाज देउखुरी भालुबाङका अध्यक्ष जितबहादुर घर्ती मगर र नौमती बाजा समूह मसुरियाका अध्यक्ष लक्ष्मी रोका मगरले शुभकामना व्यक्त गर्नुभएको थियो। देउखुरी, भालुबाङ र नौमती बाजा समूह मसुरियाबाट सदस्य तथा पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका लागि लक्षिण बुढा मगरधनकुमार बुढा मगरले २१ पेटी मिनरल वाटर उपलब्ध गराई सहयोग गर्नुभएको थियो। कार्यक्रममा उपस्थित शुभेच्छुक तथा सहयोगीहरूले स्वेच्छिक रूपमा आर्थिक सहयोगसमेत गरेका थिए। दोस्रो दिन मात्रै रु. ४२ हजार ४ सय ९ रुपैयाँ सहयोग संकलन भएको समाजले जनाएको छ।

दिउँसो सिमसिमे साउने झरी परे पनि सहभागीहरूको उत्साहमा कुनै कमी आएन। झरीकै बीचमा नाचगान र सांस्कृतिक प्रस्तुतिहरूसँगै पर्व भव्य रूपमा मनाइएको थियो।

कार्यक्रमको समापनमा समाजका अध्यक्ष विक्रम रोका मगरले प्रमुख अतिथि विशिष्ट अतिथि अन्य अतिथिहरू तथा आम सहभागीप्रति आभार व्यक्त गर्दै आर्थिक सहयोग गर्ने सबै सहयोगीदाताप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रमको सञ्चालन समाजकी सचिव सुनकुमारी घर्ती मगरले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस