काठमाडौँ ३० साउन । ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गरेबापत काटेको जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता पाउने गरेको भनी सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आएका समाचारप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त हल्ला निराधार र तथ्यहीन भएको स्पष्ट पारेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक डीआईजी अबि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा ट्राफिक नियम उल्लङ्घन गरेबापत गरिने जरिवानाको रकम सिधै नेपाल सरकारको राजस्व खातामा दाखिला हुने कानूनी व्यवस्था रहेको उल्लेख गरिएको छ। उक्त जरिवानाबापत नेपाल सरकारबाट ट्राफिक प्रहरीले कुनै पनि अतिरिक्त शुल्क वा सुविधा पाउने कानूनी व्यवस्था नरहेको प्रहरीले स्पष्ट पारेको छ।
भ्रमको पछि नलाग्न अनुरोध
तथ्य र आधिकारिक जानकारीबिना अनुमानका भरमा यस्ता समाचार र टिप्पणीहरू प्रकाशित वा प्रसारित हुँदा आम नागरिकमा भ्रम सिर्जना हुने प्रहरीको भनाइ छ। यस्ता अपुष्ट हल्लाले सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने र प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने अवस्था आउन सक्ने तर्फ प्रहरीले सचेत गराएको छ।
विज्ञप्तिमा भनिएको छ यस्ता अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाको पछि नलाग्न नेपाल प्रहरी सम्पूर्ण सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवाला सबैमा अनुरोध गर्दछ। नेपाल प्रहरीले सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई कुनै पनि समाचार वा सूचना प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न समेत विशेष अनुरोध गरेको छ।