रोल्पा कोटगाउले समाज दाङको तेस्रो साधारणसभा सम्पन्न

चैत १९, घोराही
शान्त कुमार बुढा मगर
घोराही। रोल्पा कोटगाउले समाज दाङको तेस्रो साधारणसभा तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका–१३ स्थित नेपाल राष्ट्रिय भूपू सैनिक संघ दाङको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेले समाजले सुख–दुःखमा साथ दिने उद्देश्यसहित सामूहिकतामा अघि बढ्नु आवश्यक रहेको बताउनुभयो। विभिन्न समयमा बिरामी तथा आर्थिक अभावमा परेकाहरूलाई सहयोग गरिएकोप्रति खुसी व्यक्त गर्दै उहाँले समाजको थप प्रगतिको कामना गर्नुभयो।
विशिष्ट अतिथि रामकली घर्ती मगरले आफ्नै क्षेत्रलाई आधार बनाएर रोल्पाली कोटगाउले समाज सामाजिक कार्यमा सक्रिय देखिनु सकारात्मक रहेको बताउनुभयो। पुर्ख्यौली कला–संस्कृतिको संरक्षणसँगै सामाजिक काममा आफू निरन्तर साथ रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा ब्रेन ह्यामरेजका कारण उपचाररत समाजका सदस्य मैते रोकालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

मैते रोका बचाऔँ अभियान’मार्फत संकलित १२ लाख ४ हजार ८१८ रुपैयाँ हस्तान्तरण गरिएको हो। जसमा समाजले चेकमार्फत ११ लाख ७२ हजार ४३३ रुपैयाँ तथा नगद ३२ हजार ३८५ रुपैयाँ प्रदान गरेको जनाएको छ।
समाजका अध्यक्ष टेकबहादुर वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ सल्लाहकार कमलसिंह घर्ती मगर, रोल्पाली सेवा समाजका केन्द्रीय कोषाध्यक्ष नवीन, कोर्चवाङी सेवा समाजका अध्यक्ष कैलास घर्ती मगर, जलजला टाइम्सका सञ्चालक वीरेन्द्र वलीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ओमबहादुर खड्काले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष मनवीर बुढा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। समाजकी उपाध्यक्ष माया पुन मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव निशान वलीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस