घोराही, भदौ १० । सिज स्वर्ग टोल विकास संस्था, दिपज्योती टोल विकास संस्था र बडहरा जागृती टोल विकास संस्थाको संयुक्त आयोजनामा घोराही–१३ डम्मुर गाउँ टाउनप्लानिङ फुटबल मैदानमा तीज विशेष कार्यक्रम–२०८२ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम संयुक्त आयोजक समितिकी अध्यक्ष मनिषा पुनको अध्यक्षता, घोराही–१३ का कार्यवाहक अध्यक्ष रामकली घर्ती मगरको प्रमुख आतिथ्य तथा रोल्पाली सेवा समाज रोल्पाका केन्द्रीय महासचिव शेरबहादुर डाँगीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।
प्रमुख अतिथि घर्ती मगरले तीज पर्वको महत्वमाथि प्रकाश पार्दै शुभकामना व्यक्त गर्नुभयो भने विशिष्ट अतिथि डाँगीले तीजले महिलाबीच एकता, माया र उत्साहलाई बल दिने उल्लेख गर्दै शुभकामना मन्तव्य दिनुभयो। त्यस्तै, सिज स्वर्ग टोलका सल्लाहकार तथा थुर्पा अनलाइनका सञ्चालक कैलाश घर्ती मगर, दिपज्योती टोल विकास संस्थाका अध्यक्ष दलबहादुर डाँगीलगायत अन्य अतिथिहरूले पनि शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा महिलाहरूको बाक्लो उपस्थिति थियो। दिदीबहिनीहरूले तीजका विभिन्न भाकामा छमछमी नाचेर माहोललाई उत्सवमय बनाएका थिए। कार्यक्रममा आयोजक तीनै टोललाई सम्मानपत्र प्रदान गरिएको थियो। त्यस्तै, कार्यक्रमलाई विशेष सहयोग पुर्याउनु भएकामा कैलाश घर्ती मगरलाई सम्मान गरिएको थियो। साथै, पिउने पानी उपलब्ध गराउने सरिता बुढा र बेलमती बुढालाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।
स्वागत मन्तव्य आयोजक समितिका कोषाध्यक्ष विष्णु बाँठाले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव कलपना बुढा र सहसचिव मनकुमारी घर्तीले गर्नुभएको थियो।