भैसाही नाका । औलोको कारण ज्यान गएको दाङको राजपुरको भैसाही नाकामा अन्य मानिस तथा बिरामीमा औलो रोग नदेखिएको स्वास्थ्यकर्मीको टोलिले बताएको छ ।
औलोको कारण राजपुर-९ भैसाहीकि २५ वर्षीय दिलसा बुढाको नेपालगन्ज मेडिकल कलेजमा श्रावण २२ गते मृत्यु भएपछी जन स्वास्थ्य कार्यालय दाङका औलोरोग निरीक्षक कमल चन्द र राजपुर गाउपालिका स्वास्थ्य शाखा प्रमुख कमल बहादुर रोकाय र राजपुर स्वास्थ्य केन्द्रका डाक्टर नलिना शर्मा सहितको ५ जनाको टोली २३ गते भैसासी नाका पुगेको थियो । टोलीले शुक्रवार सम्म सामुदायिक स्वास्थ्य इकाइ भैसाहीमा स्वास्थ जाँच गर्न आएका २५ जना पुरुष र ४६ जना महिला गरि जम्मा ७१जना विरामीमा आर.डि.टी. परिक्षण गर्दा सबैमा नेगेटिभ देखिएको बताएको छ ।

जनस्वास्थ्य कार्यालयका दाङका औलोरोग निरीक्षक कमल चन्दले दुई जनाको एकै प्रकृतिको लक्षण भए पनि एक जना मात्र अस्पताल गएकाले एक जनामा मात्र पुष्टि भएको भन्दै यो रोग बारे अनुसन्धान सुरु गरिएको बताउनुभयो । उहाँले लाम्खुट्टेको टोकाइ बाट सर्ने यो रोग स्थानीय नै हो या आयातित हो भन्ने बारे अनुसन्धान सुरु गरेको बताउनुभयो । उहाले भन्नुभयो ‘यो भन्दा अगाडि यस क्षेत्रमा यो रोग थाहा भएको थिएन यसरी हेर्दा यो बाहिर बाट आएको हो कि भन्ने लाग्छ तर मृतकहरुको ट्राभर हिस्ट्री हेर्दा कतै बासै बस्ने गरि नगएको भेटिएको छ । यसरी हेर्दा स्थानीय नै हो कि ? यसका लागि हामी अनुसन्धान गर्छौं ।’ मृतक कतै नगए पनि मृतकका श्रीमान साउदी बाट हालै छुट्टीमा नेपाल आएर फर्किएकाले रोग कसरी सर्यो भन्नेमा दुबिधा रहेको र चाँडै पत्ता पाग्ने बताउदै बिरामी बेलैमा औषधि नपाएर मृत्यु भएको बताउनुभयो । ‘बेलैमा बिरामी औषधि पाएको भए मृत्यु हुने थिएन तर सामान्य ज्वरो रुघाखोकी जस्तै मानेर बस्दा बिरामीको दु:खद निधन भयो ।’ उहाले थप्नुभयो । बिरामीको मृत्यु पछि समुदाय त्रसित रहेको भन्दै उहाले सचेतना कार्यक्रम चलाउने लामखुट्टे मार्ने स्प्रे वा मच्छर झुल वितरण जस्ता कार्यक्रम बढाउने बताउनुभयो ।
औलो रोगका लागि अग्रिम तयारी सामुदायिक स्वास्थ्य इकाइमा रहे पनि बिरामी इकाइ सम्म नपुग्दा मृत्यु हुन पुगेको राजपुर स्वास्थ्य शाखा प्रमुख कमल बहादुर रोकायले बताउनुभयो । ‘यहाँ आइपुगे पछि हामी निरन्तर चेकजाँचमा छौं अहिले सम्मको स्थिति हेर्दा भयावह स्थिति छैन तर हामी यसलाइ सामान्य रुपमा लिएका छैनौं ।’ उहाले भन्नुभयो । उहाँले बर्षातमा हुन सक्ने संभावित खतरा जस्तै औलो रोग झाडापखाला तथा हैजा जस्ता महामारीको पुर्व तयारी राजपुरको १२ वटै इकाइमा रहेको भन्दै अझ थप गर्ने बताउनुभयो ।

मृतक दिलसा बुढाको शव अस्पताल बाट घर ल्याइएको
स्वास्थ्य टोलीले औलो तथा लामखुट्टे बाट सर्ने रोग भएकाले यस बाट बच्न घर वरिपरि झार जंगल तथा आगन सरसफाइ गर्ने पानी जम्ने खाल्डाखुल्डी पुर्ने पानी लामो समय सम्म जम्मा हुन नदिने राती सुत्दा अनिवार्य झुलको प्रयोग गर्न सुझाव दिएको छ । औलो रोग सार्ने लामखुट्टे राती मात्रै सक्रिय हुने भएकाले विशेष गरि राती अनिवार्य झुलको प्रयोग गर्नुपर्ने बताएको छ । साथै शरीर तातो या चिसो हुने दिन बिराएर ज्वोरो आउने जस्ता लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गएर जाँच गर्न समेत सुझाएको छ ।
श्रावण १८ गते १५ वर्षीया कृष्णा बुढाको मृत्यु भएको थियो । तर उनलाइ भने अस्पताल नलगेर घरैमा मृत्यु भएको थियो । एकै लक्षण भएका दिलसा बुढालाइ अस्पतालले औलो रोग पुष्टि गरेको हो ।