घोराही। दाङ जिल्ला उद्योग वाणिज्य संघ र संजीवनी शिक्षण अस्पतालबीच उद्योगी व्यवसायी तथा सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच थप सहज बनाउने उद्देश्यले सहकार्य गर्ने सहमति भएको छ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी तथा संजीवनी शिक्षण अस्पतालका प्रमुख तथा पदाधिकारीबीच शुक्रबार भएको छलफलमा स्वास्थ्य सेवा र व्यवसायिक क्षेत्रबीच सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्दै संस्थागत सहकार्यको उद्घोष गरिएको हो। छलफलपछि संजीवनी शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले उद्योग वाणिज्य संघसँग सहकार्य गर्ने विषयमा सकारात्मक छलफल भएको जानकारी दिनुभयो। उहाँले उद्योगी व्यवसायी तथा उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन आगामी दिनमा सहकार्यलाई व्यवहारिक रूपमा अघि बढाइने बताउनुभयो। छलफलमा संजीवनी शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोका र प्रशासनिक अधिकृत शुसिल रिजालको सहभागिता रहेको थियो।
त्यसैगरी दाङ जिल्ला उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष ध्रुवराज गहतराज निवर्तमान अध्यक्ष बसन्त जोशी पूर्व अध्यक्ष नारायण भुषाल वरिष्ठ उपाध्यक्ष महेन्द्र बुढाथोकी उपाध्यक्ष गेहेन्द्र बस्नेत महासचिव माधव खनाल सहकोषाध्यक्ष शालिकराम पोख्रेल तथा एसोसिएट सदस्य दीपक पण्डितलगायतको सहभागिता रहेको थियो। छलफलका क्रममा उद्योग तथा व्यवसाय क्षेत्रको विकाससँगै उद्योगी व्यवसायीको स्वास्थ्य सुरक्षालाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो।
निजी क्षेत्र र स्वास्थ्य संस्थाबीचको सहकार्यले व्यवसायी कर्मचारी तथा उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ। संजीवनी शिक्षण अस्पतालले आधुनिक स्वास्थ्य सेवा विस्तार गर्दै आएको अवस्थामा दाङ उद्योग वाणिज्य संघसँगको सहकार्यलाई स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। आगामी दिनमा सहकार्यका क्षेत्र सेवा तथा सुविधालाई थप व्यवस्थित गर्दै उद्योगी व्यवसायी समुदायसम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउने तयारी रहेको बताइएको छ।