काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले खगेन्द्र सुनारसँग सम्बन्धित विषयमा सार्वजनिक भएका समाचार तथा आरोपबारे सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा सञ्चारमाध्यममा प्रकाशित समाचार सार्वजनिक भएका श्रव्य सामग्री तथा ती विषयसँग सम्बन्धित आरोपप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
विज्ञप्तिअनुसार महिलाको मर्यादा र सम्मानमा आँच पुग्ने कार्य अनुचित दबाब धम्की तथा शंकास्पद आर्थिक कारोबारजस्ता विषय सार्वजनिक रूपमा उठेकाले तिनको निष्पक्ष छानबिन आवश्यक रहेको पार्टीको धारणा छ।
रास्वपाले आरोपका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन आन्तरिक छानबिन अघि बढाउने निर्णय गरेको जनाएको छ। छानबिन प्रक्रिया प्रभावित नहोस् र पार्टीको नीतिगत मर्यादा कायम रहोस् भन्ने उद्देश्यले सम्बन्धित व्यक्तिलाई सार्वजनिक पदको हैसियतमा सहभागी हुने औपचारिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।
महिलामाथिको दुर्व्यवहारमा शून्य सहनशीलता
विज्ञप्तिमा महिलामाथि हुने दुर्व्यवहार पदको मर्यादा उल्लङ्घन तथा फौजदारी कसुरसँग सम्बन्धित विषयमा पार्टीले शून्य सहनशीलताको नीति अपनाउने उल्लेख गरिएको छ।
पार्टीले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको आचरण र जवाफदेहितालाई गम्भीरतापूर्वक लिने जनाउँदै घटनाको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित राज्यका निकायबाट स्वतन्त्र निष्पक्ष र तथ्यमा आधारित अनुसन्धान हुनुपर्ने धारणा व्यक्त गरेको छ।
अनुसन्धानमा सहयोग गर्ने रास्वपाको प्रतिबद्धता
रास्वपाले सम्बन्धित निकायबाट हुने अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आन्तरिक छानबिनबाट प्राप्त निष्कर्ष तथा प्रचलित कानुनी व्यवस्थाका आधारमा आवश्यक कदम चालिने पनि विज्ञप्तिमा उल्लेख छ।
पार्टीले कानुनभन्दा माथि कोही पनि नरहेको लोकतान्त्रिक मान्यताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आरोपको निष्पक्ष परीक्षण र तथ्यका आधारमा निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएको छ।