दाङ। लमही नगरपालिका-१ सुण्डबरीमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा लुम्बिनी प्रदेश सरकारका वरिष्ठ लेखा अधिकृत चेतबहादुर केसीको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय केसी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत भएको खुलेको छ।
प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे दुर्घटना भएको हो। नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लुम्बिनी प्रदेश ०३-००१ प ८५९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट मोटरसाइकल चालक केसीको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले साँझ साढे ६ बजे मृत घोषणा गरेका थिए।
दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।