रोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रोल्पाका संस्थापक तथा पूर्व जिल्ला सभापति रमेश थापा क्षेत्रीले सक्रिय राजनीतिबाट आफू पूर्ण रूपमा बाहिरिएको घोषणा गरेका छन्।
थापा क्षेत्रीले सामाजिक सञ्जालमार्फत अब आफू कुनै राजनीतिक दल पद वा जिम्मेवारीमा संलग्न नरहने स्पष्ट पारेका हुन्। उनले आगामी दिनमा आफ्नो पेशासँगै सामाजिक कार्य र व्यक्तिगत जीवनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्।
राजनीतिक यात्रालाई टुंग्याउँदै उनले यस अवधिमा आफूलाई साथ सहयोग सुझाव र विश्वास दिने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले अब आफ्नो समय र ऊर्जा पेशागत काम सामाजिक सेवा तथा व्यक्तिगत कर्ममा केन्द्रित गर्ने उल्लेख गरेका छन्।
रास्वपाले रोल्पामा संगठन विस्तार गर्ने क्रममा थापा क्षेत्रीले जिल्लाका विभिन्न स्थानमा पुगेर पार्टीको प्रारम्भिक संरचना निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनी रास्वपा रोल्पाका संस्थापक जिल्ला सभापतिसमेत हुन्।
माओवादी सशस्त्र द्वन्द्वको उद्गमस्थलका रूपमा परिचित रोल्पामा रास्वपाको संगठन विस्तारका सुरुवाती चरणमा थापा क्षेत्रीको महत्वपूर्ण संलग्नता रहेको बताइन्छ।
यद्यपि राजनीतिबाट अलग हुने निर्णय लिनुको स्पष्ट कारणबारे उनले आफ्नो सामाजिक सञ्जालको पोस्टमा कुनै विस्तृत जानकारी दिएका छैनन्। उनले भने अबको यात्रा पेशा सामाजिक सेवा र व्यक्तिगत कर्ममै केन्द्रित हुने बताएका छन्।