रोल्पा। भोटेकोसी बाढीबाट प्रभावित सुनिल स्मृति गाउँपालिका र रोल्पा नगरपालिकाका ११ परिवारलाई शनिबार एक लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको राहत सामग्री वितरण गरिएको छ।

वैदेशिक रोजगारीका क्रममा साउदी अरबको दम्मामस्थित सेमी साहारा कन्ट्रेक्टिङ कम्पनीमा कार्यरत नेपालीसहित विभिन्न देशका नागरिकबाट संकलित आर्थिक सहयोगबाट खाद्यान्न तथा भाँडाकुँडालगायतका राहत सामग्री खरिद गरी पीडित परिवारलाई वितरण गरिएको हो।
सुनिल स्मृति गाउँपालिका-६ को वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा नं. ६ का अध्यक्ष लोकेन्द्र थापा वडा नं. ५ का अध्यक्ष मनि थापा तथा पत्रकार दिपक शाहको रोहबरमा राहत सामग्री वितरण गरिएको थियो।
राहत वितरण कार्यक्रमका प्रमुख अतिथि वडा नं. ५ का अध्यक्ष मनि थापाले रोजगारीका सिलसिलामा सात समुद्रपारि रहेर पनि आफ्नो गाउँठाउँका विपद्पीडित परिवारलाई सहयोग गरेको भन्दै सहयोगीहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विपत्तिका बेला विदेशमा रहेर पनि पीडितको पीडामा साथ दिनु मानवीय सेवाको उदाहरण भएको बताउनुभयो।
वडा नं. ५ का समाजसेवी सुकलाल थापाले पनि राहत अभियानमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले केही पीडित परिवारले बाढीपछि लामो समयसम्म कतैबाट पनि राहत पाउन नसकेको उल्लेख गर्दै शनिबार राहत पाएपछि पीडित परिवारले दुखेको घाउमा थोरै भए पनि मलहमपट्टी लगाएको महसुस गरेको बताउनुभयो। साथै आफ्नो तर्फबाट पीडित परिवारलाई रु.५५ सय नगद सहयोग समेत गर्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा सुनिल स्मृति गाउँपालिका-६ का अध्यक्ष लोकेन्द्र थापाले दुःख र विपत्तिको समयमा विदेशमा रहेका नेपाली तथा अन्य देशका नागरिकले गरेको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो। आफ्नो वडाका नागरिक समस्यामा पर्दा विदेशमा रहेर राहत अभियान सञ्चालन गर्नु सराहनीय कार्य भएको उहाँले बताउनुभयो।
गत भदौ १० गते आएको भोटेकोसी बाढीमा परी बेपत्ता भएका सुनिल स्मृति गाउँपालिका-६ का राजेन्द्र महत सन्जु महत कुमार महरा वसन्त महरा र रविलाल भण्डारीका परिवारलाई राहत वितरण गरिएको छ। त्यसैगरी वडा नं. ५ का आर्यन घर्ती हरिबहादुर घर्ती सोमबहादुर घर्ती र अनराम पुन वडा नं. ३ का जगत पुन तथा रोल्पा नगरपालिका-१० का लेखराज रोकाका परिवारलाई पनि राहत उपलब्ध गराइएको हो।
राहत संकलन अभियान साउदी अरबको दम्मामस्थित सेमी साहारा कन्ट्रेक्टिङ कम्पनीमा कार्यरत रोल्पाका भीमबहादुर पुन मोरङका रामबहादुर माझी ताप्लेजुङका राजकुमार राई काठमाडौंका विशु लामा सुनसरीका अरुण चौधरी तनहुँका सुभोट बोटे रुपन्देहीका ईनसफ अली धनुषाका मनोज माझी र कैलालीका सुवास खत्रीलगायतले सञ्चालन गर्नुभएको थियो।
अभियानमा साउदी अरबमा कार्यरत नेपाल भारत पाकिस्तान बंगलादेश श्रीलंका फिलिपिन्स साउदी अरब र सुडानका नागरिकले समेत आर्थिक सहयोग गरेका थिए। वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा रहेका नागरिकबाट संकलित सहयोगले बाढीपीडित परिवारलाई खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराइएको हो।
कार्यक्रमको सहजीकरण पत्रकार दिपक शाहले गर्नुभएको थियो।