युवा ऊर्जा जिम्मेवार सहभागिता र व्यवसायीको हितमा प्रतिबद्ध नेतृत्व
घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि आसन्न असोज ११ गते घोराहीमा निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिँदै जाँदा संघको नेतृत्वका लागि उम्मेदवारी दिएका व्यवसायीहरूबीच भेटघाट छलफल तथा मत माग्ने क्रम तीव्र बनेसँगै जिल्लाको व्यावसायिक क्षेत्रको चुनावी माहोलसमेत तातिँदै गएको छ।
यसैक्रममा व्यवसायी समस्याको दिगो समाधान सक्षम र उत्तरदायी नेतृत्वको पहिचान भन्ने उद्देश्यसहित साझा व्यावसायिक प्यानलबाट युवा व्यवसायी भरत घर्ती मगरले खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका छन्।
युवा ऊर्जा जिम्मेवार सहभागिता र व्यवसायीको हितलाई प्राथमिकतामा राख्दै संघको संस्थागत विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित घर्ती मगर चुनावी मैदानमा उत्रिएका हुन्। व्यवसायीका समस्या पहिचान गरी तिनको दिगो समाधानका लागि संस्थागत पहल गर्ने घर्ती मगरले बताए।
रोल्पाको माडी गाउँपालिका-६ कोर्चाबाङ फल्लेघर निवासी घर्ती मगर हाल घोराही उपमहानगरपालिका-१५ मा बसोबास गर्दै आएका छन्। उनले घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कनजिकै २०७५ सालदेखि एल डिबी सप्लायर्स एसियन पेन्ट्स सञ्चालन गर्दै आएका छन्। व्यवसायलाई निरन्तर विस्तार गर्दै आएका घर्ती मगरले घोराही बजारसँगै रोल्पा रुकुम र प्युठानलगायत पहाडी जिल्लासम्म पेन्ट तथा निर्माणसम्बन्धी सामग्रीको आपूर्ति गर्दै आएका छन्।
व्यवसायसँगै विभिन्न क्षेत्रमा लगानी गर्दै आएका घर्ती मगर घोराहीस्थित फ्रेन्डसिप ड्राइभिङ सेन्टरका सञ्चालक यूरोकिड्स स्कुलका सञ्चालक तथा शेयरधनी एपीएस ट्रेनिङ सेन्टरका संरक्षक र गोरखा बचत तथा ऋण सहकारी संस्थाका शेयरधनी समेत हुन्। विभिन्न क्षेत्रमा लगानी विस्तार गर्नुका साथै उनले केही युवालाई रोजगारीको अवसरसमेत प्रदान गर्दै आएका छन्।
व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय घर्ती मगर रोल्पा कोर्चाबाङ समाज सेवा समिति दाङका कार्यसमिति सदस्य हुन्। उनले समाजसेवा व्यवसाय तथा संस्थागत गतिविधिमा समेत सक्रिय सहभागिता जनाउँदै आएका छन्।
घर्ती मगरले अंग्रेजी विषयमा डिग्री तहसम्मको शिक्षा हासिल गरेका छन्। व्यवसायसँगै सामाजिक उत्तरदायित्वमा समेत सक्रिय रहेका उनी सकारात्मक सोचका साथ व्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशील युवा व्यवसायीका रूपमा परिचित छन्।
उम्मेदवारी घोषणा गर्दै घर्ती मगरले उद्योग वाणिज्य संघलाई सम्पूर्ण उद्योगी तथा व्यवसायीको साझा संस्थाका रूपमा थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। निर्वाचनमा विजयी भए व्यवसायीको सुरक्षा हकहित व्यवसाय प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणका लागि जिम्मेवार भएर काम गर्ने उनले बताए।
घर्ती मगरले दाङ जिल्लाका उद्योगी तथा व्यवसायीसँग भेटघाट गर्दै आफ्नो उम्मेदवारीलाई समर्थन गरी विजयी बनाउन आग्रहसमेत गरेका छन्।
निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न उम्मेदवार तथा प्यानलले आफ्ना एजेन्डा र प्रतिबद्धता सार्वजनिक गरिरहेका छन्। यससँगै उद्योगी तथा व्यवसायीका समस्या व्यवसायिक सुरक्षा प्रवर्द्धन र संस्थाको आगामी भूमिकाबारे बहससमेत बढ्दै गएको छ।