कुल्लु हिमाचल प्रदेश १२ अगस्ट २०२६। भारतको हिमाचल प्रदेशस्थित कुल्लुमा रहेका प्रवासी नेपालीले भोग्दै आएका समस्या सुरक्षा तथा अधिकारका विषयमा प्रवासी साझा मञ्च भारतले कुल्लु जिल्ला प्रहरी प्रमुख एसपी अभिषेक शेखरसँग भेटघाट तथा छलफल गरेको छ।
प्रवासी साझा मञ्च भारतका केन्द्रीय अध्यक्ष सीपी शर्माको नेतृत्वमा भएको भेटघाटमा हिमाचल प्रदेश राज्य समितिका पदाधिकारी कुल्लु जिल्ला कार्यसमितिका पदाधिकारी तथा विभिन्न एरिया समितिका प्रतिनिधिको सहभागिता रहेको थियो।
भेटघाटका क्रममा अध्यक्ष शर्माले हिमाचल प्रदेशमा रोजगारी व्यवसाय तथा विभिन्न पेसाका सिलसिलामा बस्दै आएका नेपालीले भोग्दै आएका समस्या सुरक्षा चुनौती तथा प्रशासनिक कठिनाइबारे एसपी शेखरको ध्यानाकर्षण गराउनुभएको थियो।
विशेषगरी नेपाली नागरिकले भारतमा प्राप्त कानुनी अधिकारको सहज उपयोग गर्न पाउने वातावरण सुरक्षा प्रहरी प्रशासनसँगको समन्वय तथा रोजगारीका क्रममा उत्पन्न हुने समस्या समाधानका विषयमा छलफल भएको थियो। कुनै पनि नेपाली नागरिक अन्याय दुर्व्यवहार वा कानुनी समस्यामा परेमा निष्पक्ष सुनुवाइ तथा आवश्यक सहयोग उपलब्ध गराउन प्रहरी प्रशासनसँग आग्रह गरिएको थियो।
अध्यक्ष शर्माले प्रवासी नेपाली समुदाय र स्थानीय प्रशासनबीचको सम्बन्धलाई थप प्रभावकारी र विश्वासिलो बनाउन आवश्यक रहेको बताउनुभयो। नेपाली समुदायले आफ्ना समस्या खुलेर राख्न सक्ने वातावरण निर्माण गर्न तथा समस्या समाधानमा प्रहरी प्रशासनको सहयोग र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।
भेटघाटका क्रममा एसपी अभिषेक शेखरले प्रवासी नेपालीले भोग्दै आएका समस्याबारे सकारात्मक धारणा राख्दै कानुनी दायराभित्र रहेर आवश्यक सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको बताइएको छ।
प्रवासी साझा मञ्चले भारतमा रहेका नेपालीको हक अधिकार सुरक्षा र सम्मानका विषयमा सम्बन्धित प्रशासन तथा सरोकारवाला निकायसँग निरन्तर समन्वय गर्दै जाने जनाएको छ।
मञ्चका अनुसार भेटघाटले प्रवासी नेपाली समुदाय र स्थानीय प्रहरी प्रशासनबीचको सम्बन्ध थप सुदृढ बनाउँदै नेपालीले भोग्दै आएका समस्या समाधानका लागि सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।