रोल्पा । निरन्तरको वर्षापछि आएको पहिरोले रोल्पाको थबाङ गाउँपालिका-५ कोटलबारामा ठूलो क्षति पुर्याएको छ। बुधबार साँझ करिब ८ः४० बजे खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब आधा दर्जन घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक पंचकुमार बाखुका अनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले खोजी गर्ने क्रममा १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरलाई मृत अवस्थामा फेला पारेको हो। वर्षा नरोकिएको र भूभाग जोखिमपूर्ण रहेकाले शव निकाल्ने कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। उनीहरूलाई स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका लागि सुलिचौरतर्फ लैजाने प्रयास भइरहेको छ। सुलिचौर उवा सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक बिग्रिएकाले घाइतेलाई बोकेरै लैजानुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ।
उद्धारका लागि लिबाङबाट खटिएको प्रहरी नायव उपरीक्षक बाखुसहितको टोली सडक अवरुद्ध भएपछि पैदलै पोबाङ क्षेत्र पुगेको छ। प्रतिकूल मौसम निरन्तर वर्षा र भौगोलिक कठिनाइका कारण खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी स्थानीयवासी तथा सम्बन्धित निकायको समन्वयमा बेपत्ताको खोजी र उद्धार कार्य जारी रहेको छ। घटनास्थल सदरमुकाम लिबाङबाट करिब २६ कोष उत्तरपूर्वमा पर्छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।