राप्ती समाज यूकेको जनज्योति माविलाई तीन लाखको अक्षयकोष

सल्यान। राप्ती समाज यूके सिआइसीले सल्यानको दार्मा गाउँपालिका-३ फारुलाचौरस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्न सोमबार तीन लाख रुपैयाँ सहयोग गरेको छ। विपन्न असहाय तथा जेहेन्दार विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पुगोस् भन्ने उद्देश्यले समाजले उक्त रकम प्रदान गरेको हो।

सोही अभियानअन्तर्गत जनज्योति माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरी गरिब जेहेन्दार तथा विपन्न विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले समाजले तीन लाख रुपैयाँ बराबरको चेक तथा नगद रकम हस्तान्तरण गरेको हो। उक्त रकम समाजका पूर्वअध्यक्ष तथा सचिवालय सदस्य हिक्मतसिंह रोका मगरले विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो। राप्ती समाज यूके सिआइसीका अध्यक्ष चन्द्रबहादुर शाही हुनुहुन्छ।

समाजका अनुसार उक्त सहयोगका लागि बेलायतमा अप्रिल १६ मा च्यारिटी डिनर कार्यक्रम आयोजना गरी आर्थिक संकलन गरिएको थियो। हस्तान्तरण कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष भीमबहादुर राणाको अध्यक्षता तथा दार्मा गाउँपालिका-३ का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोखरबहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै समाजका पूर्वअध्यक्ष रोका मगरले बेलायतमा रहेर पनि मातृभूमिप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै राप्ती समाज गठन गरिएको बताउनुभयो। समाजले स्थापना कालदेखि नै विभिन्न स्थानमा सामाजिक तथा आर्थिक सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीको भविष्य निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय छनोट गरिएको बताउनुभयो। उहाँले जन्मभूमिभन्दा टाढा बेलायतमा रहे पनि गाउँठाउँ र देशप्रतिको माया कहिल्यै टाढा नहुने बताउँदै थोरैथोरै रकम संकलन गरेर भए पनि मातृभूमिमा सहयोग पुर्‍याउने प्रयास भइरहेको उल्लेख गर्नुभयो। सहयोग सही ठाउँमा सदुपयोग हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो। केही दिनपछि आफू बेलायत फर्कने जानकारी दिँदै रोका मगरले समाजको उद्देश्य र लक्ष्यबारे जानकारी गराउँदै विद्यालय परिवारलाई शुभकामना व्यक्त गर्नुभयो।

प्रमुख अतिथि खत्रीले आफ्नो वडामा रहेको विद्यालयमा अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेकोमा राप्ती समाज यूकेका अध्यक्ष चन्द्रबहादुर शाहीसहित समाजका सम्पूर्ण प्रतिनिधिप्रति धन्यवाद व्यक्त गर्नुभयो। विदेशमा रहेर पनि मातृभूमि र स्थानीय समुदायप्रतिको दायित्व सम्झँदै गरिएको सहयोग प्रशंसनीय रहेको उहाँको भनाइ थियो।

सामुदायिक विद्यालयतर्फ सल्यान जिल्लाकै उत्कृष्ट तथा नमुना विद्यालयका रूपमा घोषणा गरिएको जनज्योति माध्यमिक विद्यालयमा हाल ११ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा कक्षा १२ सम्मको पठनपाठन सञ्चालन हुँदै आएको शिक्षकहरूले बताएका छन्।

कार्यक्रमका सभाध्यक्ष राणाले विद्यालयको शैक्षिक विकास तथा विद्यार्थीको भविष्य निर्माणमा सहयोग पुर्‍याएकोमा राप्ती समाज यूकेप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो। कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक मीनबहादुर वलीले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेको नृत्यले थप मनोरञ्जन प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस