छोराको स्मृतिमा रोल्पाली उवा समाजलाई ४ लाख २० हजार सहयोग नोकोबाङ्गे राँके तिवार एक दिन थप

दाङ साउन ६। एउटा परिवारको कहिल्यै नमेटिने पीडाले आज समाजप्रतिको प्रेरणादायी योगदानको रूप लिएको छ। स्वर्गीय १४ वर्षीय हिमाल सन्तोष रोका मगरको स्मृतिमा उहाँका परिवारले गरेको ४ लाख २० हजार रुपैयाँको सहयोगले रोल्पाली उवा समाज सेवा दाङद्वारा आयोजित नोकोबाङ्गे राँके तिवार पर्वमा नयाँ भावनात्मक आयाम थपिएको छ।

कार्यक्रमका अवसरमा स्वर्गीय हिमाल सन्तोष रोका मगरका बुबा लालप्रसाद रोका मगर आमा जुनकुमारी रोका मगर दिदी आशा रोका मगर तथा भान्जा ५ वर्षीय समरात बुढा मगरले संयुक्त रूपमा रोल्पाली उवा समाज सेवा दाङलाई ४ लाख २० हजार रुपैयाँ बराबरको चेक कार्यक्रम उदघाट्न समारोह  साउन १ गतेका दिन हस्तान्तरण गर्नुभएको थियो।

स्वर्गीय हिमाल सन्तोष रोका मगरको २०६४ साल वैशाख २९ गते लमही बेलदमार सडकखण्डमा भएको दुःखद बस दुर्घटनामा निधन भएको थियो। वर्षौं बितिसक्दा पनि छोराको सम्झनालाई समाजसेवामा रूपान्तरण गर्दै परिवारले गरेको यो योगदानले कार्यक्रममा उपस्थित सबैलाई भावुक बनाएको थियो।

उहाँहरूको स्थायी घर रोल्पा जिल्लाको तत्कालीन उवा-२ रोकाबारा गाउँ भए पनि हाल घोराही उपमहानगरपालिका-१८ अखबरेमा बसोबास गर्दै आउनुभएको छ।

रोल्पाली उवा समाज सेवा दाङले परिवारको यस उदार सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै स्वर्गीय हिमाल सन्तोष रोका मगरको स्मृति समाजका लागि सधैँ प्रेरणाको स्रोत बनेर रहने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस