रोल्पाली सेवा समाज रोल्पाद्वारा भेटघाट तथा आर्थिक सहयोग हस्तान्तरण

घोराही दाङ। रोल्पाली सेवा समाज रोल्पाले सोमबार दाङको घोराहीस्थित सुपर लजमा भेटघाट तथा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीको अध्यक्षता तथा केन्द्रीय आर्थिक सल्लाहकार हिकमतसिङ रोका मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख अतिथि रोका मगरले आफ्नो जीवनका संघर्ष भोगाइ र अनुभवलाई कवितामार्फत प्रस्तुत गर्दै जन्मथलो रोल्पा र कर्मथलोको स्मरण गर्नुभएको थियो। उहाँको भावुक प्रस्तुतिले कार्यक्रममा सहभागीहरूलाई भावुक बनाएको थियो। रोल्पाको थबाङमा जन्मिनुभएका रोका मगर हाल बेलायतमा बसोबास गर्दै आउनुभएको छ। उहाँ बेलायती सेनाबाट अवकाशप्राप्त हुनुका साथै विभिन्न सामाजिक सेवामूलक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ।

कार्यक्रममा रोल्पाली सेवा समाज रोल्पा कतार शाखाका अध्यक्ष चित्रा केसी रोल्पाली सेवा समाज कोरिया शाखाका संयोजक तिलकराज घर्ती मगर समाजका केन्द्रीय निवर्तमान सचिव रोशन गिरि तथा रोल्पाली सेवा समाज दाङ शाखाका संरक्षक दर्जित रोका मगरले मन्तव्य व्यक्त गर्नुभएको थियो। कतार शाखाका सदस्य हस्तमाली डाँगीको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

कार्यक्रमका अवसरमा रोल्पा परिवर्तन गाउँपालिका-२ राङ्सी निवासी ७० वर्षीय चन्द्रमोहन घर्ती मगरलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। लामो समयदेखि प्यारालाइसिसबाट पीडित घर्ती मगर टाउकोमा प्रेसरसम्बन्धी समस्या देखिएपछि शरीरको एक भाग नचल्ने अवस्थामा पुग्नुभएको छ। आर्थिक अवस्था कमजोर भएपछि रोल्पाली सेवा समाजका केन्द्रीय प्रवक्ता सूर्य घर्ती मगरको पहलमा र समाजले सञ्चालन गरेको सहयोग अभियानमार्फत संकलित रु. १ लाख २३ हजार ९६ रुपैयाँ बराबरको ग्लोबल आइएमई बैंकको चेक प्रमुख अतिथि हिकमतसिङ रोका मगर केन्द्रीय अध्यक्ष डिलाराम वली तथा अन्य अतिथिहरूले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रमको प्रारम्भमा रोल्पाली सेवा समाज दाङ शाखाका अध्यक्ष ओमप्रकाश खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन केन्द्रीय महासचिव निशान वलीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस