दाङ घोराही। रोल्पाली उवा समाज सेवा दाङले परम्परागत नोकोबाङ राँके तिवार पर्व साउन १ गते शुक्रबार विविध कार्यक्रमका साथ मनाएको छ।
घोराही उपमहानगरपालिका-१३ तुरुन्तपुरस्थित समाजको आफ्नै मैदानमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष विक्रम रोका मगरको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले रोल्पाको उवा क्षेत्रबाट दाङमा बसोबास गर्दै आएका समुदायले आफ्नो मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा भावी पुस्तामा हस्तान्तरण गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो।
उहाँले रोल्पाली उवा समाजले आफूहरू एक्लो नभएको महसुस गर्नुपर्ने भन्दै घोराही उपमहानगरपालिका सधैं समाजका सामाजिक तथा विकास निर्माणका कार्यमा साथ दिन तयार रहेको उल्लेख गर्दै नोकोबाङ राँके तिवार पर्वको शुभकामना व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि घोराही उपमहानगरपालिका-१३ का वडा अध्यक्ष दल्लुराम पोख्रेल र घोराही उपमहानगरपालिका-१४ का वडा अध्यक्ष भानसिं बुढा मगरले पनि शुभकामना व्यक्त गर्नुभयो।
उहाँहरूले रोल्पाबाट दाङमा बसाइँ सरेपछि पनि उवा समाजले आफ्नो मौलिक संस्कार संस्कृति र परम्परालाई जोगाएर राखेको प्रशंसनीय कार्य भएको बताउनुभयो। वडा अध्यक्ष बुढा मगरले समाजलाई कार्यालय व्यवस्थापनका लागि आवश्यक फर्निचर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो भने वडा अध्यक्ष पोख्रेलले आगामी दिनमा समाजलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा अतिथि पत्रकार तथा रोल्पा कोर्चाबाङ समाज सेवा समिति दाङका अध्यक्ष कैलाश घर्ती मगर ढाङ्ढुङ्गे कुरेली समाज बुढा हर्डवेरका संचालक प्रेम बुढा मगर रोल्पाली सेवा समाजका अध्यक्ष डिलाराम वली र उवा समाजकी जुनकुमारी रोका मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।



कार्यक्रममा विभिन्न समाज संघसंस्था तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समाजलाई ४ लाख २० हजार रुपैयाँ सहयोग कार्यक्रमकै अवसरमा २०६४ साल वैशाख २९ गते लमही बेलदमार सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १४ वर्षीय हिमाल सन्तोष रोका मगरको स्मृतिमा उहाँका बुबा लालप्रसाद रोका मगर आमा जुनकुमारी रोका मगर दिदी आशा रोका मगर तथा ५ वर्षीय समरात बुढा मगरले रोल्पाली उवा समाजलाई ४ लाख २० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो। समरात बुढा मगर स्वर्गीय हिमाल सन्तोष रोका मगरका भान्जा हुन्। उहाँहरूको स्थायी घर रोल्पाको उवा-२ रोकाबारा गाउँ भए पनि हाल घोराही उपमहानगरपालिका-१८ अखबरेमा बसोबास गर्दै आउनुभएको छ।
रोल्पाको उवा क्षेत्रबाट दाङमा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने समुदायलाई एउटै साझा चौतारीमा आबद्ध गराउने दुःख सुखमा एकअर्काको साथ र सहयोग गर्ने तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले रोल्पाली उवा समाज स्थापना गरिएको समाजले जनाएको छ।
ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको पर्व
नोकोबाङ राँके तिवार पर्व अठार मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायले हरेक वर्ष साउन १ गते साउने सङ्क्रान्तिका अवसरमा मनाउने प्रमुख परम्परागत पर्व हो। यस दिन वन जंगल तथा आगोको पूजा गरिनुका साथै नाचगान रमाइलो र सामूहिक भेटघाट गर्ने चलन रहेको छ। शरीरमा रोगव्याधि नलागोस् भन्ने कामनासहित आगोको झिल्काबाट लुतो फाल्ने परम्परा पनि रहेको छ।
प्रकृतिप्रतिको सम्मान सामुदायिक एकता र आपसी सद्भावको प्रतीकका रूपमा मनाइने यो पर्व ऐतिहासिक पौराणिक तथा सांस्कृतिक महत्व बोकेको मौलिक चाड हो। विशेषगरी वर्षायाममा बाढी पहिरो महामारी तथा अन्य प्राकृतिक विपत्तिबाट मानव समुदायको रक्षा होस् भन्ने कामनासहित प्रकृतिको आराधना गर्ने परम्परा रहिआएको छ।
यो पर्व विशेषगरी रोल्पा रुकुम दाङ लगायत मगर बाहुल्य क्षेत्रमा मनाइन्छ। दाङको घोराही क्षेत्रमा पनि रोल्पाली उवाली मगर समुदायले साउन १ गतेदेखि ५ गतेसम्म विविध कार्यक्रम आयोजना गरी पर्व मनाउँदै आएका छन्।
कार्यक्रमको प्रारम्भमा समाजका ज्येष्ठ नागरिक ८३ वर्षीय भान्दे रोका मगरलाई सम्मान गरिएको थियो।
समाजका सल्लाहकार भागिमान घर्ती मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
भने कार्यक्रमको सञ्चालन समाजकी सचिव सुनकुमारी घर्तीले गर्नुभएको थियो।
कार्यक्रमका अध्यक्ष विक्रम रोका मगरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी अतिथि तथा सहभागीप्रति धन्यवाद ज्ञापन गर्नुभयो।