एपिएस ट्रेनिङ सेन्टरका २८ जना प्रशिक्षार्थी नेपाल प्रहरीमा छनौट

दाङ, ३१ असार । दाङको घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कस्थित संचालित एपिएस ट्रेनिङ सेन्टरबाट दोस्रो ब्याचका २८ जना प्रशिक्षार्थी एकैपटक नेपाल प्रहरीमा छनौट हुन सफल भएका छन्।

नेपाल प्रहरीको जनपदतर्फ छनौट भएका ती प्रशिक्षार्थीहरूका लागि सेन्टरले बुधबार आफ्नै कार्यालयमा एक भव्य बधाई शुभकामना तथा बिदाइ कार्यक्रमको आयोजना गरेको छ।

ट्रेनिङ सेन्टरका सञ्चालक दिवाकर बुढामगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका पूर्व प्रहरी उपरीक्षक एसपी कर्णबहादुर बुढामगर मुख्य अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै मुख्य अतिथि बुढामगरले नेपाल प्रहरी जनपद तर्फ जवानमा छनौट भएकाहरुलाई बधाई दिँदै आगामी आधारभूत तालिमका कठिनाइहरूलाई सहजै पार गरी सफलतापूर्वक दीक्षान्त हुन शुभकामना व्यक्त गर्नुभयो।

नेपाल प्रहरी देश र जनताको सेवामा समर्पित आफ्नै गौरवमय इतिहास बोकेको संस्था हो। तपाईहरूले अब देशको जिम्मेवारी र घरको भविष्य बोक्नुभएको छ, त्यसैले कर्तव्य पालनाको मार्गमा कहिल्यै विचलित नहुनुहोला पूर्व एसपी बुढामगरले भन्नुभयो।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि सामुदायिक प्रहरी सेवा केन्द्र दाङका अध्यक्ष लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव एवं लुम्बिनी खेलकुद समितिका सदस्य कैलाश रोका मगर तथा ढाङ्ढुङ्गे समाज दाङ एवं नयाँ बसपार्क टोलका अध्यक्ष नारायणप्रसाद रोकाले पनि नेपाल प्रहरीमा छनौट प्रशिक्षार्थीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

एपिएस ट्रेनिङ सेन्टरबाट विभिन्न जिल्लाका युवाहरू नेपाल प्रहरीमा छनौट हुन सफल भएकाहरु

  • रोल्पा: रेश्मा बुढामगर, गंगा बुढामगर, सरिता घर्तीमगर, तारा कुमारी खत्री, निरज वली, मनोज वली, राजेश वली क्षेत्री, प्रथम पुनमगर, समीक्षा पुनमगर, दिलिप थापा मगर, किरण घर्तीमगर, जुनु बानियाँ, खगिन्द्र रोका क्षेत्री र राजन बुढामगर।
  • प्यूठान: लालबहादुर टोमटा, दुर्गा पुनमगर, इमान बुढाथोकी, गहेन्द्रकुमार पुनमगर, दिपेन्द्र गिरी, गोमा खत्री, विजय गिरी, रमेश बुढामगर र माधव गिरी
  • दाङ: पार्वती चौधरी र लक्ष्मी पुनमगर
  • सल्यान: रवि वली र बलबहादुर वली
  • रुकुम पूर्व: सम्झना रोकामगर

समारोहमा ट्रेनिङ सेन्टरका तर्फबाट छनौट भएका सबै प्रशिक्षार्थीहरूलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरिएको थियो। आफ्ना छोराछोरी राष्ट्र सेवाको गौरवमय पदमा छनौट भएकोमा उपस्थित अभिभावकहरूले निकै खुसी व्यक्त गरेका थिए।

बिदाइ कार्यक्रमको बीचबीचमा प्रस्तुत गरिएका सांस्कृतिक नृत्यहरूले हलको माहोललाई थप रोमाञ्चक र उल्लासमय बनाएको थियो।

स्थापनाको छोटो समयमै एपिएस ट्रेनिङ सेन्टरले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा शतप्रतिशत नतिजासहित भर्ना गराउन सफल हुँदै आएको सेन्टरले जनाएको छ। ट्रेनिङ सेन्टरका म्यानेजर तथा प्रशिक्षक झपेन्द्र घर्तीमगरको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन थुर्पा अनलाइनका सञ्चालक कैलाश घर्तीमगरले कुशलतापूर्वक गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस