संजीवनी हस्पिटलद्धारा कोइलावासमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २२७ जनाले लिए स्वास्थ्य सेवा

गढवा २८ असार
सशस्त्र प्रहरी बल, नेपाल नं. २९ गण मुख्यालय ज्वालामाई, दाङको आयोजनामा तथा संजीवनी इन्स्टिच्युट अफ एड्भान्स स्टडिज एण्ड टिचिङ हस्पिटल लिमिटेड, घोराही-३, दाङ र लमही आँखा अस्पतालको सहकार्यमा गढवा गाउँपालिका-८, कोइलावासमा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। २०८३ साल असार २८ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको शिविरमा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरबाट कुल २२७ जना बिरामीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका थिए।

शिविरमा जनरल तथा इन्टरनल मेडिसिन, हाडजोर्नी तथा नसा रोगसम्बन्धी विशेषज्ञ सेवा, आँखा परीक्षण, साथै निःशुल्क औषधि वितरण लगायतका सेवाहरू उपलब्ध गराइएको थियो। विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श र औषधि उपलब्ध गराएका थिए। कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक यदु कुमार कार्की, सशस्त्र प्रहरी नायव उपरीक्षक जोगेन्द्र के.सी. सशस्त्र प्रहरी नायव उपरीक्षक ईश्वर डी.सी., भन्सार कार्यालय कोइलावासका प्रमुख लोकबहादुर विष्ट, गढवा गाउँपालिका-८ का वडा अध्यक्ष खालिक सिद्दीकी, इलाका प्रहरी कार्यालय कोइलावासका प्रहरी वरिष्ठ नायव निरीक्षक रामप्रसाद बेल्वासे, संजीवनी इन्स्टिच्युट अफ एड्भान्स स्टडिज एण्ड टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत दीपक रोका, मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. वाचस्पति सुवेदी, अस्पताल व्यवस्थापक मदन पन्थी, डा. कलामुद्दीन खान, डा. रवी कुशवाहा तथा लमही आँखा अस्पतालका नेत्र सहायक विष्णु खनाल लगायतका पदाधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरप्रति स्थानीयवासीले सकारात्मक प्रतिक्रिया दिएका थिए। शिविरमा विशेषज्ञ चिकित्सकबाट प्रत्यक्ष स्वास्थ्य परीक्षण, रोगको पहिचान, आवश्यक परामर्श तथा निःशुल्क औषधि प्राप्त गर्न पाउँदा स्थानीय बासिन्दा लाभान्वित भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी अतिथिहरूले यस्ता स्वास्थ्य शिविरले ग्रामीण तथा सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

सशस्त्र प्रहरी बल, नेपाल नं. २९ गण मुख्यालय ज्वालामाई, दाङले सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको उक्त शिविरलाई संजीवनी इन्स्टिच्युट अफ एड्भान्स स्टडिज एण्ड टिचिङ हस्पिटल र लमही आँखा अस्पतालको प्राविधिक तथा चिकित्सकीय सहयोगले थप प्रभावकारी बनाएको थियो। स्थानीय समुदायले शिविर सफलतापूर्वक सम्पन्न गराएकोमा आयोजक संस्था तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस