घोराही, १ वैशाख। थुर्पा ट्रेडर्स एण्ड मिडिया प्रालिद्वारा सञ्चालित थुर्पा अनलाइन डटकम को नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ।
थुर्पा ट्रेडर्स एण्ड मिडिया प्रालिका सञ्चालक कैलाश घर्ती मगरको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ केन्द्रका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। साथै, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चार क्षेत्रको सशक्त भूमिका आवश्यक रहेको बताउनुभयो। उहाँले सञ्चार क्षेत्र सृजनशीलताको अग्रणी माध्यम भएकाले यसको सक्रिय सहभागिताविना मुलुकको समृद्धि दिगो हुन नसक्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले पछिल्लो समय सञ्चार क्षेत्रमा डिजिटल प्रविधिको तीव्र विकास भइरहेको उल्लेख गर्दै यसलाई बहुउपयोगी र प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघले विभिन्न कार्यक्रमहरू कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो।
त्यस्तै, विशिष्ट अतिथि तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेपाल मगर संघ दाङका अध्यक्ष मुक्त बुढा मगर, दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष ईश्वर बुढा लगायतले पनि कार्यक्रममा मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा विभिन्न सहयोगी दाताहरूलाई सम्मानसमेत गरिएको थियो। कार्यक्रमको सहजीकरण शान्तकुमार बुढा मगरले गर्नुभएको थियो।